-
नमोबुद्ध संवाददाता,
काठमाडौं–नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘आख्यानमा शरीर राजनीति’ नामक ग्रन्थ ल्याउने तयारी थालेको छ । प्रज्ञा–प्रतिष्ठानको साहित्य (गद्य÷आख्यान) विभागको परियोजना अन्तर्गत सहप्राध्यापक डा. षडानन्द पौड्यालद्वारा लिखित अनुसन्धनामूलक ग्रन्थ ‘आख्यानमा शरीर राजनीति’ ल्याउने भएको विभागकी प्रमुख प्राज्ञ माया ठकुरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार ‘आख्यानमा शरीर राजनीति’ ग्रन्थमा नेपाली आख्यानमा शरीर राजनीति पहिल्याई विश्लेषण गरी लेखिएको ग्रन्थमा शरीर राजनीतिको अर्थ र पृष्ठभूमि, पूर्वीय र पश्चिमी परम्परामा शरीर, नेपाली आख्यानमा लिङ्ग, उमेर र रङको राजनीति, नेपाली आख्यानमा वर्गीय राजनीति लगायतका अध्याय रहेका छन् ।
परम्परादेखि अनेकन किसिमले समाजमा चल्दै आएको शरीर राजनीतिलाई प्राज्ञिक विमर्शमा प्रवेश गराउने उद्देश्यले उक्त ग्रन्थको अनुसन्धान गराई प्रकाशनमा ल्याउन लागिएको हो ।
प्राज्ञ ठकुरीले भन्नुभयो – “राज्यसत्ता हत्याउन होस् वा अन्य स्वार्थसिद्ध गर्न उहिल्यैदेखि विश्वमा शरीर राजनीति हुँदै आएको छ । त्यही कुरालाई यो ग्रन्थले विवेचना गरेको छ ।” यसले शरीर राजनीतिको सैद्धान्तिक मानक पहिचान गर्ने उहाँको विश्वास छ ।