-
नमोबुद्ध संवाददाता (काठमाडौं)
गत फागु पुर्णिमाको दिन । १४ बर्षिया अनिशा राई, ८ बर्षिया अनुष्का राई र ४ बर्षिया आयुस्का राईका लागि जीवनकै सबैभन्दा अँध्यारो क्षण बन्यो । खोटाङ स्थायी घर भई दक्षिणकाली नगरपालिका वडा नं. २ मा बस्दै आएका यी बालिकाहरुका आमा–बुबाको घर झगडा हुँदा आमाको मृत्य भयो, हत्या आरोपमा बुबा जेल परे ।
त्यसपछि मिडियामा यी तीन बालिकाको बिचल्लीबारे समाचार छायो । यो समाचार प्रधानमन्त्रीपत्नी राधिका शाक्यले पनि पढ्न भ्याइन् । जसै समाचार पढिन, उनको मन एकतमासले भाउन्न भयो । यसपछि उनै प्रधानमन्त्री पत्नीले यी तिनैजना बालिकाहरुको उद्धार गर्न लगाइन् । बालबालिका खोजतलास केन्द्र, राष्ट्रिय बाल अधिकार परिषद र मानव सेवा आश्रमको पहलमा यी बालबालिको उद्धार भएको केही दिनमै लकडाउन भयो, अनिषा, अनुष्का र आयुस्का खोजतलास केन्द्रमा सुरछित बस्न थाले ।
आइबार यी तिनै जना बालिकाको सम्पुर्ण अभिभावकत्व औपचारिक रुपमा प्रधानमन्त्रीपत्नी शाक्यले लिएकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रम गरि शाक्यले तिनैजनालाई आफु अभिभावक बनि एसओएस बालग्रामको जिम्मा लगाइएको छ । बालग्रामको नियम अनुसार हरेक बालबालिकाको स्थानिय अभिभावक हुनुपर्दछ, जसले शैक्षिक शुल्क बेहोर्ने देखि चाडपर्व र महिना–महिनामा बालग्राममा गई भेट्ने गर्नुपर्दछ । यी सबै जिम्मेवारी सहित शाक्य अनुष्का, अनिषा र आयुस्काका स्थानिय अभिभावक बनेकी हुन् ।
‘समाचार पढेपछि मनमा कस्तो कस्तो लाग्यो’, कार्यक्रममा शाक्यले भनिन्, ‘उनीहरुको दुःखदायी भविष्यबारे कल्पिरहें । त्यसपछि उद्धारका लागि साथीहरुलाई भनें ।’ कार्यक्रमकै बिचमा आइपुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कुनै पनि बालबालिका अभिभावक विहीन हुन नपरोस्’ भन्ने नाराका साथ सरकार लागि परेको बताए । कार्यक्रममा वाग्मती प्रदेशका सांसद दिपक निरौला, राष्ट्रिय बाल अधिकार परिषदका कार्यकारी निर्देशक मिलन धरेल, एसओएस बालग्रामका राष्ट्रिय निर्देशक ईश्वरीप्रसाद शर्मा लगायतले प्रधानमन्त्रीपत्नी शाक्यको पहलको प्रसंशा गरे ।