• नमोबुद्ध संवाददाता

काठमाडौं–नेपाल प्रज्ञा प्रतिष्ठान बालसाहित्य तथा लोकवार्ता विभागले ‘सृष्टिका कथा’ प्रकाशन गर्ने भएको छ । मानिसका विभिन्न जाति र तिनका थरका उत्पत्तिकथामा आधारित लोककथा प्रकाशन गर्ने भएको हो ।

“प्रत्येक जाति र तिनका थरका सृष्टिका आ–आफ्नै कथा छन् ।”– प्रज्ञा प्रतिष्ठान बालसाहित्य तथा लोकवार्ता विभागका प्रमुख प्राज्ञ डा. देवी नेपालले यसबारे प्रस्ट पार्दै भन्नुभयो– “तिनै लोककथाहरुको खोज, सङ्कलन तथा सम्पादन गरेर ग्रन्थका रूपमा प्रकाशन गर्ने तयारीमा जुटेका छौं ।”

उहाँले नेपालका सातै प्रदेशमा बसोबास गर्ने विभिन्न जात–जातिका सृष्टिका कथा खोज तथा सङ्कलन गरेर प्रकाशन गर्ने निर्णय विभागको बैठकले गरिसकेको जानकारी दिनुभयो ।

बैठकमा आर्थिक वर्ष २०७६/०७७ मा सम्पन्न भएका कामको जानकारी, मूल्याङ्कन तथा कार्यसमीक्षा गरिनुका साथै आगामी आ.व.का योजनाका बारेमा समेत छलफल गरी गरिएका विभिन्न महत्त्वपूर्ण निर्णयमध्ये यो निर्णय पनि रहेको प्रज्ञा प्रतिष्ठानका सञ्चार विभाग प्रमुख प्राज्ञ शशी लुमुम्बूले जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस !