
-
जगत तामाङ
काठमाडौं–गीतसंगीत दुनियाँमा डिजिटल प्रविधिको विकासले फड्को त मार्दै गयो तर तामाङ मौलिक गीतहरुको खडेरी बढ्दै गयो,यसको आशय स्पष्ट छकि हाम्रा मौलिक चिजहरुको प्रवद्र्धनमा हामी नयाँ प्रविधि प्रयोग गर्न असमर्थ भयौं । फलस्वरुप तामाङ गीतसंगीतको बाटो पनि स्वछन्दवादी भयो,यसको प्रभाव पश्चिमा संगीततर्फ अधिक रुपमा ढल्क्यो, हामीले आफ्नो फ्लेवर गुमाउँदै गयौं ।
यिनै सन्दर्भमा तामाङ मौलिक गीतका पारखी ज्ञानसिं वाइवा झण्डै एक दशकपछि मौलिक स्वाद लिएर फर्किनुभएको छ ‘परदेशी ज्यो ज्यो’ साथ । यसअघि डम्फुला चरी, बैरागी च्याङ्बा, सिन्धुली नाम्सा,ठूली कान्छी जस्ता चर्चित मौलिक तामाङ गीतहरू ल्याएर यो क्षेत्रको रिङ छोड्नुभएका गायक वाइबाको पुनःआगमन भएको हो । यो पटक युगल गायनमा उहाँलाई अहिलेका चर्चित गायिका जितु लोप्चनको साथ छ । लय स्वयम् वाइबाको छ ।
जिग्मे मिडियाको युटुव च्यानलबाट हालै यिनै गीतको भिडियो समेत सार्वजनीक भएको उहाँले बताउनुभयो । तामाङ भाषामा गाइएको गीतलाई नेपाली र अंग्रेजी दुवै भाषामा ‘सवटाइटल’ दिइएकोले गैरतामाङ समुदायका संगीतप्रेमीहरुको पनि रोजाइमा पर्न सक्छ–‘परदेशी ज्यो ज्यो’ ।
“विविध कारणले यो क्षेत्रमा निरन्तर रहन सकिन,धेरै समयपछि फर्किएको छु ।”–हालै चुच्चेपाटीमा भेटिएका गायक वाइबाले भन्नुभयो’–“पुरानो शैली विर्सिएको छैन,मैले हाम्रा पुर्खालाई सम्झेको छु,यस्ता गीतसंगीत मन पराउने ठुलो युवा जमात पनि छ ।”
कोरोना कहरमा परदेशमा रहेका नेपालीहरुको मनोविज्ञान,दाजुबहिनीबिचको प्रेम,पारिवारिक जिम्मेवारी,गरिवीमा पर्ने ऋणको समस्याको उजागरका साथै परदेशबाट दुःखले कमाएर पठाएको पैसा आफ्नै जीवसाथीले मोजमस्ती उडाउने र छोराछोरी विचल्लीमा पार्नेजस्ता विकृतिलाई गीतमार्फत व्यक्त गर्ने कोसिस गरेको उहाँले स्पष्ट पार्नुभयो ।
सिन्धुपाल्चोकको मेलम्चीमा जन्मिएका वाइबाले आफ्नो परिवेशलाई कहिल्यै नभुलेको भान यिनै सन्दर्भबाट हुन्छ । “मौलिक गीतसंगीतको संरक्षणका लागि अब निरन्तर यो कर्ममा रहने सोच लिएको छु ।” गायक वाइबाले भन्नुभयो ।