नमोबुद्ध संवाददाता

धुलिखेल–कोरोना भाइरस(कोभिड–१९) को मार हामी सबैले खेपिरहेकै छौं । यिनै सन्दर्भमा हालै यूवा साहित्यकार तथा गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘कस्तो भाइरस आयो…’ सार्वजनिक भएको छ ।

संसारलाई नै आक्रान्त बनाइरहेको कोरोना महामारीलाई समेटेर लेखिएको उक्त कारुणिक गीतको भिडियो गीतकार फुलाराको आफ्नै आधिकारीक यूट्युव च्यानल फुलारा इन्टरटेनमेन्ट नेटवर्क मार्फत सार्वजनिक गरिएको हो । रामकुमार बस्नेतको स्वर तथा सङ्गीत र रामचन्द्र चन्दको सङ्गीत संयोजन रहेको गीत ‘कस्तो भाइरस आयो…’को भिडियोमा फुलारा लिटरेचर फाउण्डेसन नेपाल र द ल अफिसेस अफबाशु डी. फुलारा पि.सि.को संयुक्त सहकार्य छ ।

यसअघि आमाहरुमा समर्पित गीत ‘जुनसरी बिलाई गयौं…’ सार्वजनिनिक गरिसक्नुभएका साहित्यकार तथा गीतिकार फुलाराले भन्नुभयो–‘यतिवेला विश्व नै कोरोना कहरमा छ । हामीकहाँ पनि यसको रोकथाम र नियन्त्रणका लागि भन्दै विगत चार महिना ‘लकडाउन’ गरियो । यसले दैनिक जनजीवनलाई कष्टकर बनायो । देश तथा विदेशमा रहेका धेरै नेपालीले समेत यो भाइरसका कारण ज्यान गुमाए,कतिलाई परिवारसँग टाढा हुन बाध्य बनाएको छ । त्यसैले यो पटकचाँहि यही कहरलाई गीत मार्फत प्रस्तुत गरेको छु’।

लिगेस भट्टराईद्वारा निर्देशन तथा सम्पादन गरिएको गीतको भिडियोमा सुरविर पण्डित (दारीबा), दिनेश के.सी., सरिता राजोपाध्याय, ज्ञान खत्रीको मुख्य भूमिका छ । ठण्डबहादुर अधिकारी, योगगुरु सुदन भेटवाल, हेमाङ्गराज गिरी र भीष्मराज फुलारा समेतको अभिनय पनि देख्न सकिन्छ यो भिडियोमा ।

भिडियोमा वीरेन्द्र भट्टको छायाँकन रहको छ भने उर्मिला लामाको श्रृङ्गार रहेको छ । यसमा व्यवस्थापन यमप्रसाद ओलीले र स्वराङ्कनको पाटो गणेश सुवेदीले सम्हाल्नुभएको छ ।

भिडियो :

प्रतिक्रिया दिनुहोस !