नमोबुद्ध संवाददाता :
काठमाडौं–नेपाल प्रज्ञा–प्रतिष्ठानले हालै नेपालमा मातृभाषामा आधारित बहुभाषिक शिक्षासम्बन्धी महत्त्वपूर्ण पुस्तक प्रकाशित गरेको छ । मातृभाषा (मातृभाषा, कोश तथा व्याकरण) विभागबाट विभागीय प्रमुख प्राज्ञ प्रा.डा. योगेन्द्रप्रसाद यादव र भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीको सम्पादनमा ‘नेपालमा मातृभाषामा आधारित बहुभाषिक शिक्षासम्बन्धी अवधारणा’ (Perspectives On Mother Tongue–Based Multilingual Education In Nepal) नामक पुस्तक प्रकाशित गरिएको हो ।
पुस्तकका सम्पादकद्वय प्रा.डा. यादव र डा. अवस्थीको परिचयात्मक लेखबाट आरम्भ भएको पुस्तकभित्र ‘बहुभाषिक शिक्षा र नेपालः एक अवधारणा’ शीर्षकमा प्रदीप एल बज्राचार्य, प्रेम भट्टराई, तोया भट्टराई, माधव दाहाल, गेहनाथ गौतम, हरिराम पन्त, माया राय, तोभे स्कुत्नाव–कंग्स, रामहरि श्रेष्ठ, फटिक थापा, निर्मलमान तुलाधरका विचार प्रस्तुत रहेको नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सूचना तथा सञ्चार विभाग प्रमुख शशी लुमुम्बूले जानकारी दिनुभयो ।
लुमुम्बूका अनुसार पुस्तकभित्र समाविष्ट अन्य लेखहरूमा अजित मोहन्ती, शेली के टेलर, डेभिड ए हाफ, पेवी आहोनेन, सुसन मालोन, महेन्द्रकुमार मिश्र, चूडामणि बन्धु, उमा प्रधान, मिरांडा वेनबर्ग, नाओमी फिलमोर आदिका लेखहरू पनि समावेश गरिएका छन् ।
पुस्तकमा कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङको महत्वपूर्ण मन्तव्य–भूमिका रहेको छ । सन्दर्भसूचीसहित ४ सय १४ पृष्ठको पुस्तकको मूल्य रु. ४१५ रहेको छ । पुस्तक प्रज्ञा–प्रतिष्ठानको विक्री कक्षमा उपलब्ध छ ।