-
जगत तामाङ :
काठमाडौं–नेपाली संगीत,रंगमञ्च,नाट्य तथा नृत्य क्षेत्रका ६ विशिष्ट साधकहरुलाई मंगलबार नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार समर्पण गरिएको छ ।
परम्परागत तथा शास्त्रीय संगीत विधातर्फ वरिष्ठ तवलावादक रामहरि गुरुङ,संगीत विधातर्फ वरिष्ठ संगीत संयोजक हस्तबहादुर थापा(पल्ली मगर) लाई पुरुस्कृत गरिएको हो । त्यस्तै नाट्य विधातर्फ पुरस्कृत हुनुहुनेमा वरिष्ठ नाट्यकर्मी प्रचण्ड मल्ल,लोक संगीत विधातर्फ वरिष्ठ लोक गायक कुमार बस्नेत,रंगमञ्च विधामा वरिष्ठ अभिनेता नीर शाह र नृत्य विधामा वरिष्ठ नृत्यांगना नारायणदेवी प्रधान हुनुहुन्छ ।
भिडियो :
सिंहदरबारस्थित संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सभाहलमा नेपाल संगीत ता नाट्य प्रज्ञा प्रतिष्ठानद्धारा आयोजित समारोहकाबिच प्रतिष्ठानका संरक्षक,संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको वाहुलीबाट यि ६ कला साधकहरु जनही ताम्रपत्र,दोसल्ला र नगद रु १ लाख १ सहित पुरस्कृत हुनुभएको हो ।
समारोहलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले दशकौं लामो अनुभव संगालेका यि साधकहरुबाट नयाँ पुस्ताले निकै ज्ञान आर्जन गरेको बताउनुभयो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले यस्ता प्रतिभाहरुलाई पुरस्कृत गर्नु गर्वको विषय रहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो–“नेपाली कला क्षेत्रबारे मन्त्रालय सकारात्मक छ,कला क्षेत्रको उन्नयन तथा कलाकारहरुले सम्मान अनुभुति गर्ने खालका कार्यक्रममा आवश्यक सहयोग रहनेछ ।”
प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ(रायन)ले नेपाली संगीत तथा नाट्य क्षेत्रमा आफ्नो जीवनको लामो सेवा र राष्ट्रको लागि महत्वपूर्ण योगदान दिएका व्यक्तित्वहरुलाई नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारले सम्मान गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले यि व्यक्तिहरु पुरस्कृत हुदा प्रतिष्ठान स्वयम् पुरस्कृत भएको महसुस गरिएको बताउनुभयो । उहाँले मुलुकको पहिचान ठूला ठूला महल,चिल्ला सडकभन्दा विभिन्न समुदायको कलाकौशल,भावना,व्यवहारको सिंगो रुप संस्कृति रहेको तर्क गर्नुभयो । उहाँले भन्नुभयो–“यि चिजहरुको समुन्नतिबाटै राष्ट्र कति सुशिल र समृद्ध छ भन्ने बुझिन्छ ।”
सदस्यसचिव श्यामप्रकाश तमोटले २०७१ सालबाट ४ जनालाई पुरस्कृत गर्दै आएकोमा विधा थप गर्दै हाल पछिल्ला वर्षहरुमा ६ कला साधकहरुलाई पुरस्कृत गर्दैआएको जानकारी दिनुभयो ।