• सेम्ह्रो फूलमान मोक्तान :

सिन्धुपाल्चोक- इन्द्रावती गाउँपालिका वडा नं ४ स्थित लामाथोकका पाल्देन लामा हाल जीवनमरणको दोसाँधमा हुनुहुन्छ ।

घरको आर्थिक अवस्था कमजोर भएकै कारण धन कमाउन दुई वर्षअघि मलेसिया त पुग्नुभयो तर स्वास्थ्यमा समस्या देखेपछि तीन महिनामै कम्पनीले नेपाल फर्काइदियो ।

बौद्धको नयाँ बस्तीमा थाङ्का कोर्दै र लामाको कामकाजमा हिड्दै परिवार पाल्दै आउनुभएका पाल्देन श्रीमती र दुई सन्तान सन्तानका अभिभावक । तर रोगले गाल्दै लगेपछि पाल्देन आफ्नै ज्यान बचाउन संघर्ष गरिरहनुभएको छ ।

“अस्पताल पुगेर जाँच गर्दा किड्नी फेल भएको रहेछ,” उहाँले भन्नुभयो, “हप्तामा दुई पटक डायलासिस गर्नुपर्छ ।” राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा डायलिसस गर्न जाँदा उहाँको हप्तामा २० हजार रुपैयाँ सकिन्छ ।

उपचारकै क्रममा इन्द्रावती गाउँपालिकाले एक लाख सहयोगसहित अन्य सम्पत्ति बेचेर १५ लाख खर्च भइसकेको बताउँदै उहाँले अहिले साथीभाई,आफन्तजन तथा मनाव समुदायमा सहयोगका लागि गुहार माग्नुभएको छ ।

आफ्नै साइलो भाइ उर्गेन सिङ्गे तामाङ उहाँलाई मिर्गौला दिन तयार हुनुहन्छ तर मिर्गौला प्रत्यारोपणको लागि पर्ने १४ लाख रकम जुटाउन मुस्किल परेको छ । ३२ वर्षकै उमेरमा दुबै मृगौला फेल भएका पाल्देनले प्रत्यारोपण गर्न खर्च अभाव झेलिरहनुभएको हो ।

गहभरी आँशु पार्दै उहाँले सहयोगी मनकारीहरुको सहयोगबाट केही वर्ष अझै बाँच्न पाए दुई सन्तानको विल्लीवार नहुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !