• जगत तामाङ (काठमाडौं)

साहित्यकार झमक घिमिरेको शनिबार जन्मदिन । मदन पुरस्कार विजेता यी साहित्यकार अब ४० बर्ष टेकिन् । धनकुटाको कचिडेस्थित आफ्नै घरमा बसिरहेकी उनले देश विदेशबाट जन्मदिनको थुप्रै शुभकामना पाइन् । अर्थपुर्ण चाहिँ के भने मुलुककै प्रथम महिला (प्रधानमन्त्री पत्नी) राधिका शाक्य साहित्यकार झमक घिमिरेको जन्मदिन मनाउन सरकारले बनाएको गोठाटारस्थित झमक घर पुगिन् र बृक्षारोपण गरिन् ।

झमकको जन्मदिनको अवसरमा दुई वटा एभोकाडो र एउटा अम्बाको रुख रोपेपछि प्रधानमन्त्री पत्नी शाक्यले भनिन्, ‘झमकलाइ घर बनाइदिने सपना बल्ल पुरा भयो ।’

सरकारले बनाइदिएको झमक घरमा वृक्षारोपण गर्दै प्रधानमन्त्रीपत्नी राधिका शाक्य ।

गोठाटारस्थित पशुपति क्षेत्र विकास कोषको एक रोपनी जग्गामा बनेको अपांगमैत्री झमक घरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यदेखि प्राज्ञ लक्ष्मी माली, साहित्यकार स्नेह सायमी, वासुदेव अधिकारी, फूलमान वल, अनन्त वाग्ले, अनिता लामा, सुरेश हाचेकाली, रोजिता बुद्धाचार्य जम्मा भएका थिए ।

सामाजिक दूरी राखेर शाक्यले घरकै परिसरमा एभोकाडो र अम्बाको रूख रोप्दै गर्दा झमक प्रतिष्ठानसम्बद्ध स्रष्टा अनिताले एउटा चिठी निकालेर पढ्न थालिन्, जुन खुट्टाले लेखेरै धनकुटादेखि झमकले पठाएकी थिइन् ।

‘सरकारले स्रष्टालाई गरेको यो ठूलो सम्मान हो,’ चिठीमार्फत झमकले भनिन्, ‘म निकै भावुक बनेकी छु । छिट्टै काठमाडौं आउन चाहन्छु ।’ जन्मिँदै मस्तिष्क रोग सेरेब्राल पाल्सीबाट पीडित झमक बोल्न र हिँडडुल गर्न सक्दिनन्, खुट्टाले लेखेरै संवाद गर्छिन् । खुट्टाको तीनवटा औंला मात्रै चल्ने उनले आधा दर्जनभन्दा बढी कृति लेखेकी छन् भने आत्मकथा ‘जीवन काँडा कि फूल’ का लागि केही वर्षअघि मदन पुरस्कार पाएकी थिइन् । यिनै स्रष्टाको सम्मानमा सरकारले पाँच वर्षअघि घर बनाउने घोषणा गरेको थियो ।

त्यतिबेलै पशुपति क्षेत्र विकास कोषको जग्गा प्राप्त भए पनि निर्माण कार्य भने दुई वर्ष अगाडि थालिएको थियो । १ करोड ८० लाखको लागत रहेको तीनतले घर निर्माण सम्पन्न भएर हस्तान्तरणको तयारीमा छ । प्रधानमन्त्री पत्नी शाक्यको रेखरेखमा निर्माण सम्पन्न भएको घरको छिट्टै हस्तान्तरण गरिने बताइएको छ ।

सरकारले राजधानीको गोठाटारमा साहित्यकार झमक घिमिरेलाई बनाइदिएको घर ।

सहरी विकास मन्त्रालयका तर्फबाट ज्ञानज्योति बिल्डर्सले निर्माण गरेको घर पूर्ण रूपमा अपांगमैत्री छ । भुइँतलामा झमकको बस्ने, लेखपढ गर्ने र सुत्ने थलो बनाइएको छ भने ह्विलचियरबाटै लिफ्ट चढेर छतमा घाम ताप्न जान सकिने बन्दोबस्त मिलाइएको छ । अनिताका अनुसार दोस्रो तलामा झमकको परिवार बस्ने छ भने तेस्रो तलामा पुस्तकालय र सभा हल निर्माण गरिएको छ । वृक्षरोपणपछि प्रधानमन्त्री पत्नी शाक्यले सरकार स्रष्टाहरूको सम्मानमा कटिबद्ध रहेको बताइन् । सामाजिक दूरी कायम राखेर गरिएको कार्यक्रममा प्राज्ञ लक्ष्मी माली, साहित्यकार स्नेह सायमी, वासुदेव अधिकारी, फूलमान वल, अनन्त वाग्ले, अनिता लामा, सुरेश हाचेकाली, रोजिता बुद्धाचार्यलगायतले झमकद्वारा रचित कविता सुनाए ।

 

शुभचिन्तकहरुसँग राधिका शाक्य ।

 

झमकको सृजना वाचन गदै साहित्यकार वासुदेव अधिकारी ।
कार्यक्रम संचालन गदै साहित्यकार अनिता लामा । 
झमक घिमिरेको सृजना वाचन गदै साहित्यकार स्नेह सायमी ।
झमक घिमिरेको सृजना वाचन गदै साहित्यकार अनन्त वाग्ले ।
झमक घिमिरेको सृजना वाचन गदै साहित्यकार फूलमान वल ।
झमक घिमिरेको सृजना वाचन गदै सगरमाथा आरोही, रंगकर्मी एवं साहित्यकार रोजिता बुद्धाचार्य ।
झमक घिमिरेको सृजना वाचन गदै साहित्यकार एवं समालोचक सुरेश हाचेकाली ।
कार्यक्रम सम्बोधन गर्दै पुर्व संस्कृति मन्त्री आनन्द पोखरेल । उनकै पालामा झमक घरको लागि जग्गा मिलेको थियो ।
कार्यक्रममा सहभागीहरु झमक घरको वाल्कोनीमा ।
वृक्षारोपणमा सहभागीहरु ।

प्रतिक्रिया दिनुहोस !