-
नमोबुद्ध संवाददाता :
नमोबुद्ध–हामीले नेपालका पितृसतात्मक हिन्दु समाजका थुप्रै ठाउँका घटना सुनेका र देखेका छौं,छोरा जन्मिने आशमा दर्जनौं छोरीहरुले जन्म लिएका । त्यस अवस्थामा छोरीलाई जन्मदिने आमालाई न आत्मसम्मान मिल्छ न त जन्मेका छोरीहरुको राम्रो पालनपोषणनै गरिन्छ । तर काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. ९ मा त्यस विपरितको अभियान छ, जहाँ छोरी जन्माउने आमा तथा परिवारलाई प्रोत्साहन दिईन्छ ।
यहाँ छोरी जन्मिदा रु. ५ हजार नगद पाईन्छ । यो खासमा ‘घरमा सुत्केरी शुन्य’ बनाउने अभियान अन्तरगतको कार्यक्रम रहेको वडाध्यक्ष मेलबहादुर लामाले स्पष्ट पार्नुभयो ।
यसका साथै अध्यक्ष लामाले २१ जना आमाहरुलाई अन्य विभिन्न शिर्षकमा समेत प्रोत्साहन स्वरुप नगद वितरण गरिसक्नुभएको छ ।
ती मध्ये ८ जनाले छोरी जन्म प्रोत्साहन स्वरुप ५/५ हजार रुपैयाँ, २१ जना प्रत्येकले एम्बुलेन्स खर्च वापत १८ सय रुपैयाँ र उक्त स्वास्थ्य चौकीबाट रिफर भएका ११ जना प्रत्येकले २ हजारका दरले रकम पाएका छन् ।
वडाध्यक्ष लामाले भन्नुभयो–“लैंगिक विभेद अझै पनि समाजमा रहेकोले यसको अन्त्य गर्न र मातृशिशु स्वास्थ्यलाई ध्यानमा राख्दै यस्तो योजना ल्याएका हौं ।”
सुत्केरी गराउन परम्परागत विधिमा मात्रै भर पर्दा कतिपय आमाहरुको मृत्यु समेत हुनेगरेकोले यस कार्यक्रम प्रभावकारी हुने उहाँको दावी छ । सुरक्षित सुत्केरी गराउनको लागि वार्थीङ सेन्टरमा अनिवार्य ल्याउन उहाँले स्थानियलाई अनुरोध समेत गर्नुभएको छ ।
दाप्चा स्वास्थ्य चौकीमा अब जुनसुकै ठाउँबाट सुत्केरी गराउन ल्यएपनि छोरी जन्म प्रोत्साहन कार्यक्रमबाट लाभान्वित गराउने तयारीमा जुटेको समेत उहाँले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७७/७८ देखि यो कार्यक्रम लागु हुने लामाले स्पष्ट पार्नुभयो । काभ्रेमा यसरी सुत्केरी महिलालाई प्रोत्साहन स्वरुप नगद दिने कार्यक्रम कतै नभएको वडा सदस्य इश्वरी श्रेष्ठको दावी छ ।