-
जगत तामाङ :
तेमाल–तामाङ सभ्यता केन्द्र काभ्रेको तेमालमा पाँचखाल बोहोरेदोभान र भकुण्डेवेशी हुदै कच्ची सडकको ट्रयाक जोडिएको बहुदलिय व्यवस्थाको सुरुवातमै हो तर बिसौं वर्ष बित्दापनि सडकको अवस्था उस्तै रह्यो,जनतालाई सास्ती ।
अरनिको राजमार्ग र विपी लोकमार्ग छेउको यो गाउँमा अहिले भने चहलपहल अलि फेरिएको छ । स्थानिय जनप्रतिनिधि आएपछि तेमालका प्राय गाउँ तथा टोलहरु समेत सडक सञ्जालसँग जोडिएका छन् ।
केहि नयाँ ट्रयाक बनेका हुन् भने पुराना तथा मुख्य कच्ची सडकहरुको भने स्वरुपमै केही परिवर्तन हुन थालेको छ । वडादेखी पालिकास्तरबाट पुरानो सडकहरुको मर्मतसम्भार भई कम्तीमा कृषि उपज बजारसम्म पुर्याउन सहज भएको छ,जस कारण स्थानिय जनताको जीवनस्तर उकासिंदो छ ।
अब तेमालका मुख्य सडकहरु चौडा हुनुका साथै असहज ठाउँहरुमा ढुंगा विछ्याईएको छ । कतै ढलान त कतै ग्रावेल र सोलिङ ।
तत्काल आवश्यक ठाउँहरुमा पक्की नाली समेत काटिएकोले ति सडक बर्खामास क्षति हुने जोखिम कम छ । अब नियमित सवारी साधान सञ्चालन हुनेमा स्थानिय पनि विश्वस्त छन् ।
चालु वर्षको योजना अन्तिम चरणमा :
विगतबाट पाठ सिक्दै बेलेमा योजना सम्पन्न गर्नुपर्नेमा तेमालका जनप्रतिनिधि र कर्मचारी उत्तिकै सचेत देखिए । चालु आर्थिक वर्ष वडास्तरका प्राय सडक योजनाहरु पुरा भइसकेका छन् । पालिकास्तरको बजेटका ठूला योजनाहरु पनि लगभग अन्तिम चरणमा पुगेको पालिका उपाध्यक्ष दुर्गामाया तामाङले जानकारी दिनुभयो ।
बुधबार वडा नम्बर ७ का केहि योजनाहरुको अनुगमनपश्चात उपाध्यक्ष तामाङले भन्नुभयो–“अधिकांश योजनाहरु हामीले बेलैमा सकाएका थियौं,पालिकास्तरका एकाध योजनामात्रै बाँकी हो,असारको तेस्रो साताभित्रमा सबै सम्पन्न भइसक्छ ।”
टेण्डर प्रक्रियामा केहि ढिलाई भएपनि काम भने कछुवा गतिमा भएन । फट्टाफट मंगलटार क्षेत्र,रोसाईबा क्षेत्र,बोहोरेदोभान लगायतका स्थानबाट तिब्र गतिमा सडक विस्तार तथा स्तरउन्नतिका काम सुरु भयो । पालिका स्तरका बजेटबाट मर्मत सम्भार र स्तरउन्नती हुने प्राय यि सडकहरुमा यातायातका साधन वर्षभरिनै सञ्चालन हुने स्थिति बन्दै गएको हो ।
मंगलटार हुदै तेमाल उक्लने सडक पालिकास्तरको १ करोड रुपैयाँको बजेट टेन्डर लगाई लगभग अन्तिम चरणमा पुगेको वडा नम्बर ७ का वडाध्यक्ष एवम् पालिका प्रवक्ता ज्ञानबहादुर लामाले बताउनुभयो ।
पालिकाको मुख्य बैकल्पिक सडकको रुपमा हेरिएको यो सडक खण्डमा सार्वजनिक बस सेवा समेत सञ्चालन हुदै आएकोमा अब निकै सहजता आउने प्रवक्ता लामाको भनाई छ । अहिले उक्त सडक खण्ड चौडा बढाउने,घुम्ती फराकिलो पार्नेे,पक्की नाली काट्ने गर्नाले निकै सुन्दर देखिन थालेको छ ।
केहि दिन अघि गाउँपालिका कार्यालयमा अध्यक्ष सलाम सिं तामाङको कार्यकक्षमा भेटिएका प्रवक्ता लामा भन्दै हुनुहुन्थ्यो–“अध्यक्षज्यू,उपाध्यक्षज्यू ! मेरो वडातिर जाऔं,त्यहाँको विकास निर्माण हेर्नुपर्यो,अब के कस्ता योजनालाई प्राथमिकतामा राख्दा गाउँको अझ भलाई हुन्छ भन्ने बुझ्न सजिलो होला ।” प्रवक्ता लामाका अनुसार विकासका मुख्य पुर्वाधार सडक सञ्जालमा जनतालाई जोड्न सके उनिहरुको दैनिकीमा ठूलो सहजता आउँछ ।
अहिले अन्तिम चरणमा पुगेको ल्होङसाल बेशी,भञ्ज्याङ वडा कार्यालय,मेच्छे,टेकानपुरको माथि च्यान डाँडा ९ नम्बर वडाको सिमानासम्मको सडक निर्माण सकिन लागेको वडा नम्बर ९ का वडाध्यक्ष लक्ष्मी घिसिङले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षमा तेमालका मुख्य सडकहरुले पालिकास्तरको बजेट प्राप्त गरेको छ । उहाँका अनुसार चोपाटारदेखी गैरीगाउँ हुदै खत्रीगाउँसम्मको सडक योजना पनि पालिका स्तरको हो । ति योजनाहरु ७०⁄ ७० लाख रुपैयाँको टेन्डरमा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
पालिका स्तरको सडक योजना अन्तरगत वडा नम्बर १ को बोहोरेदोभान आधाबाट तथा चुखा सडक पनि हो । केहि सडक योजनामा प्रदेश सरकारको सहकार्य छ । जुन नमोबुद्ध कालिमाटी डाँडा तेमाल प्रवेशद्धारबाट पक्की नाली निकाल्ने,ढलान गर्ने काम सकिदैछ ।
पालिकास्तरको बोहोरेदोभान आधाबाट सडकमा पनि घुम्ती बढाउने,चौडा पार्ने,पक्की नाली काट्ने लगायका काम भईरहेको वडाध्यक्ष मानबहादुर श्रेष्ठले जनाउनुभयो ।
कृषि ज्ञान केन्द धुलिखेलको समन्वयमा तेमालमा एउटा ग्रामीण कृषि सडक पनि बनेको छ । जहाँ बर्खामा पनि यातायातका साधन सञ्चालनमा आउने निर्माण समितिका अध्यक्ष देवराज तामाङको भनाई छ ।
कोरोनाले छेकेन विकास
नोवल कोरोना महामारीका कारण केहि असहजता देखिएपनि पालिकाका योजनाहरु प्रभावित नभएको पालिका अध्यक्ष तामाङले स्पष्ट पार्नुभयो ।
अध्यक्ष तामाङको प्रतिवद्धता छ–“लकडाउको अवधिमा पनि भौतिक दुरी कायम गर्दै सावधानीका साथ हामीले काम गरिरहेका छौं,विशेष त सडक योजनाका कामहरु हुन्,असार २० सम्ममा सम्पन्न हुन्छ ।”
प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुईंकेलका अनुसार पनि अहिले धमाधम अनुगमनका साथै अन्तिम फरफारकको काम भईरहेको छ ।
पालिका अध्यक्ष तामाङको भनाईमा तेमालको समृद्धिमा सडक पुर्वाधारको महत्वपूर्ण स्थान रहने भएकोले यसतर्फ पालिकाको ध्यान गएको हो ।
पालिकाले बोहोरेदोभानदेखी तेमाल जोड्ने मुख्य सडक,मंगलटारदेखी तेमाल जोड्ने सडक,मेच्छे टेकानपुरसम्म जोड्ने मुख्य सडकहरुलाई विशेष प्राथमिकता दिदै आएको छ । मर्मत सम्भार तथा स्तर उन्नतिको कार्यको राम्रो सुरुवाती चरणमै तेमालका यि मुख्य मुख्य सडकहरुको स्वरुप फेरिंदै गएको हो ।
अहिले फराकिला बनाईएका यि सडकहरु वर्षातको समयमा हिलाम्य हुने स्थिति आउन नदिई क्रमश पक्की बनाउनेतर्फ निरन्तर ध्यान दिनुपर्ने स्थानिय बुद्धिजीव बताउँछन् । यसमा संघीय संसद प्रतिनिधि र संघीय सरकारको पनि ध्यान जानुपर्ने उनिहरु औंल्याउँछन् ।
यद्यपी यत्तिको अवस्थामा पनि यसबाट सर्वसाधारणले ठूलो लाभ लिन सक्नुका साथै तीन वर्षभित्र प्रत्येक स्थानिय तहको केन्द्रमा सडक कालोपत्रे गर्ने प्रदेश सरकारको योजनामा महत्वपुर्ण टेवा पनि पुग्ने देखिन्छ ।
पालिका उपाध्यक्ष दुर्गामाया तामाङ,प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुईंकेल,योजना अधिकृत राजकुमार तामाङ,स्थानिय जनप्रतिनिधि लगायतको टोली अनुगमणको क्रममा :