
-
नमोबुद्ध संवाददाता:
काभ्रेपलाञ्चोक–वर्खा लागेसँगै सडक बिग्रनेतर्फ सचेत हुदै मण्डनदेउपुर नगरपालिका क्षेत्रका कच्ची सडकहरुमा असार १ गतेबाट ट्रिपर ट्रयाक्टर चलाउन रोक लगाईएको छ । आगामी भदौ ३१ गतेसम्म जिरोकिलो सिपाघाट पिच सडक बाहेक अन्य सबै सडकहरुमा ट्रिपर ट्रयाक्टर चलाउन रोक लगाईएको नगरपालिकाद्धारा जारी सूचनामा उल्लेख छ ।
नगरपालिकाभित्र हुने विकास निर्माण कार्यहरुका हकमा सम्बन्धित निर्माण व्यवसायी कम्पनी तथा उपभोक्ता समितिको माग र वडाहरुको सिफारिसका आधारमा नगरपालिकाबाट पास उपलब्ध गराइने छ । साथै नगरपालिकाले रोक गरिएका सवारी साधन बिना पास सञ्चालन गरेमा कार्वाही गर्ने चेतावनी समेत दिएको छ ।
प्रमुख प्रशासकिय अधिकृत प्रणराज न्यौपानेद्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ–“बिना पास सञ्चालन गरेमा ट्रिपर र ट्रक प्रति पटक २५ हजार रुपैयाँ र ट्रयाक्टरलाई प्रतिपटक १५ हजार रुपैयाँ जरिवाना हुने व्यहोरा समेत जानकारी गराइन्छ ।”