• नमोबुद्ध संवाददाता

काठमाडौँ–नोभल कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि सरकारले जारी गरेको बन्दाबन्दीको आदेशका कारण प्रभावित भएको जनजीवन सामान्य बनाउन जोरबिजोर प्रणाली लागु गर्ने निर्णय भएको हो । मन्त्रीपरिषद्को निर्णयानुसार आजदेखि मुलुकभर निजी सवारीसाधन सञ्चालनमा जोरबिजोर प्रणाली लागु भएको छ ।

जोर गतेका दिन जोर नम्बर प्लेटका सवारीसाधन र बिजोर गतेका दिन बिजोर नम्बर प्लेटका सवारीसाधन सञ्चालन हुनेछन् ।सार्वजनिक सवारीसाधन भने तत्कालका लागि सञ्चालनमा नआउने अर्थमन्त्री एवं सरकारका प्रवक्ता डा.युवराज खतिवडाले जानकारी दिनुभयो ।

जोरबिजोर प्रणालीमा चलेका सवारीसाधन एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाउने छैनन् ।उपत्यकाको हकमा तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागु भएको छ भने उपत्यका बाहिर पनि जिल्ला प्रशासन कार्यालयको समन्वयमा यो प्रणाली लागु हुनेछ ।

यसअघि पास लिएर सञ्चालन भएका निजी सवारीसाधनहरू पनि जोरबिजोर प्रणाली अनुसार चल्नु पर्नेछ । ४ पाङ्ग्रे सवारीसाधनमा चालकसहित ३ जनासम्म हिँड्न पाउने छन् भने मोटरसाइकल, स्कुटरमा भने चालक मात्र हिँड्न पाउने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !