-
नमोबुद्ध संवाददाता
काठमाडौं–नेपालमा हालसम्म् मृत्यु भएका १३ जना मध्ये ११ जनाको क्वारेन्टाइनमा नै मृत्यु भएको छ । सबैजनाको रिपोर्ट मृत्यु पछि मात्रै आएको थियो । मृत्यु भएका मध्ये ११ जनामा कोरोना संक्रमण देखिएको थियो । सुदूरपश्चिममा मात्रै ७ जनाको क्वारेन्टाइनमा नै मृत्यु भएको छ ।
नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या पनि बढिरहेको छ । आइतबारसम्ममा कोरोना संक्रमितको संख्या ३ हजार ४४८ जना पुगेका छन् । छिमेकी राष्ट्र भारतबाट आउने मानिसहरुको संख्या बढेसंगै नेपालमा कोरोना संक्रमण हालसम्ममा ७१ जिल्लामा फैलिएको छ । विदेशबाट आउनेलाई क्वारेन्टाइनमा राख्नलाई ठाउँको पनि अभाव भएको बताएका छन् । अर्कातिर क्वारेन्टाइनमा नै संक्रमितको मृत्यु भएकोले थप सचेत रहनुपर्ने विज्ञहरुले बताएकाछन् ।
नेपालमा तेस्रो कोरोना संक्रमितको मृत्यु बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा भयो । रातभरी क्वारेन्टाईनमा झाडापखाला, वान्ताको कष्ट झेलेका ती युवकलाई ढिलो गरि अस्पताल पु¥याउदा प्राण गइसकको थियो ।
बारामा एक जेष्ठ नागरिकको मृत्यु भएको ८ दिनपछि मात्रै कोरोना रहेछ भन्ने रिपोर्ट आयो । उहाँको कोरानाकै कारणले मृत्यु भएको हो त ? चिकित्सक नै यकिन भन्न सक्दैनन ।अस्पतालका अनुसार ती जेष्ठ नागरिकको कोरोनाका कारण नै मृत्यु भएको भन्न नमिल्ले बताएको छ ।
उनलाई मृगौला रोग थियो, कलेजोमा पनि निकै संक्रमण भइसकेको थियो, लामो समयदेखि गम्भिर स्वास्थ्य समस्या भएकाले कोरोना संक्रमणका विषयमा कसैले चासो दिएन । मृत्यु पनि कोरोना भन्दा अरु रोगले भएको हो ।
आजसम्म अन्तिम ८ जनाको सूचीमा रहेका बाजुरामा २ वर्षे बालक र त्यसअघि दैलेखमा क्वारेन्टाइनमा मृत्यु भएका युवामा पनि मृत्युपछि मात्रै कोरोना संक्रमण पुष्टि भयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले क्वारेन्टाइनमा १ लाख ६७ हजारलाई राखिएको छ । उनीहरु सबै जोखिममा बसिरहेका छन् । कपिलवस्तु यशोधरा गाउँपालिकामा ७० भन्दा बढी संक्रमतिलाई एउटै क्वारेन्टाइनमा राखिएका छन् ।