-
नमोबुद्ध संवाददाता
काठमाडौं–तामाङ पत्रकारहरूको ‘कोरोना बिमा’ गर्न तामाङ पत्रकार संघलाई नेपाल तामाङ घेदुङको आर्थिक साथ मिलेको छ ।
कोरोना महामारीको बढ्दो जोखिमलाई मध्यनजर गर्दै घेदुङ संघीय कार्यसमितिले ८२ जना तामाङ पत्रकारको बिमा गर्न लाग्ने प्रिमियम शुल्कबापतको ४९ हजार २ सय रुपैयाँ आइतवार हस्तान्तरण गरेको हो । साथै १ सय थान केएन–९५ मास्क पनि घेदुङकी वरिष्ठ उपाध्यक्ष बेली लामाले पत्रकार संघका अध्यक्ष विष्णु तामाङलाई हस्तान्तरण गर्नुभएको संघले जानकारी दिएको छ ।
८२ जनाका लागि प्रतिव्यक्ति १ लाख रुपैयाँ बिमाङ्कको बिमा गर्न लाग्ने ४९ हजार २ सय रुपैयाँ रकम र मास्क नेपाल तामाङ घेदुङ पुरातात्त्विक अनुसन्धान विभाग प्रमुख कुयाङ लामा घिसिङले सहयोग गरेको घेदुङका उपाध्यक्ष कुमार घिसिङले जानकारी दिनुभयो ।
‘कोरोना नियन्त्रणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सरकारले विशेष सुविधा दिएको छ, तर समाचार संकलनका लागि खटिने पत्रकारले त्यस्तो सुविधा नपाइरहेको कारण घेदुङले संस्थागत रूपमा पहल गरी तामाङ पत्रकारहरूको बिमा गर्न सहयोग गरेका हौं,’ उपाध्यक्ष घिसिङले भन्नुभयो, ‘हाम्रो अनुरोधलाई स्वीकारेर सहयोग गर्नुहुने पुरातात्त्विक अनुसन्धान विभाग प्रमुख कुयाङ लामा घिसिङप्रति आभार व्यक्त गर्दछौं ।’
उक्त कार्यमा घेदुङको सूचना तथा सञ्चार विभागले विशेष पहल गरेको थियो । पत्रकार संघका निवर्तमान अध्यक्षसमेत रहेका जगत दोङले समन्वयकारी भूमिका खेल्नुभएको हो ।
संघका अध्यक्ष विष्णु तामाङले कोरोना भाइरसको जोखिम बढिरहेको अवस्थामा पत्रकारको बिमा गर्न सहयोग गरेकोमा घेदुङको संघीय कार्यसमिति, पुरातात्त्विक अनुसन्धान विभाग प्रमुख घिसिङ र यस कार्यमा समन्वय गर्ने सूचना तथा सञ्चार विभागप्रति आभार व्यक्त गर्नुभयो । उहाँले देशभर क्रियाशील ८२ जनाको युनाइटेड इन्स्योरेन्स कम्पनीमा बिमा गरिएको जानकारी दिनुभयो ।
‘हामी सकेसम्म कसैलाई पनि कोरोना सङ्क्रमित भएर बिमा रकम लिनुपर्ने अवस्था नआओस् भन्ने कामना गर्छौं, यद्यपि सङ्क्रमित भइहालेमा थोरै भए पनि राहात पुग्ने अपेक्षासहित बिमा गरिदिने निर्णय गरेका हौं,’ अध्यक्ष तामाङले भन्नुभयो, ‘यस कार्यमा सहयोग गरेर अभिभावकीय भूमिका निर्वाह गरिदिएकोमा घेदुङ संघीय कार्यसमितिप्रति आभार व्यक्त गर्दछौं ।’
कार्यक्रममा घेदुङकी वरिष्ठ उपाध्यक्ष लामाले कोरोना महामारीका कारण समस्यामा परेकालाई सहयोग गर्न घेदुङले संस्थागत रूपमा निर्णय गरेर अगाडि बढ्ने जानकारी दिनुभयो । उहाँले घेदुङमार्फत अगाडि बढाइने सहयोग कार्यक्रममा व्यक्तिगत रूपमा सहयोग गर्नसमेत आफू तयार रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा घेदुङका सचिव रामकृष्ण ब्लोन, कोषाध्यक्ष रुपबहादुर योञ्जन, पत्रकार संघका उपाध्यक्ष लक्ष्मी रुम्बालगायतको उपस्थिति थियो ।