-
नमोबुद्ध संवाददाता
काभ्रे–आइतबार जिल्लाको रोशी गाउँपालिका वडा नं. १ ले २०० जना किसानलाई फौजी किरा मार्ने विषादी वितरण गरेको छ । पछिल्लो समय किसानको खेतबारीमा अमेरिकन फौजी किराले मकैबाली नष्ट गर्न थालेपछि किसानलाई गाउँपालिकाको कृषि तथा पशु स्वास्थ्य शाखाको सहयोगमा विषदी वितरण गरेको रोशी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष श्रीदास लामाले जानकारी दिनुभयो ।
वडाध्यक्ष लामाले भन्नुभयो–“वडाकोे तल्लो भेग नारायणटार, तङलिङ्, खहरे, पाँगुमा बढि प्रकोप रुप लिन थाले पछि त्यहाँका किसानहरुले वडामा विषादी माग गरे अनुरुप पालिकाको कृषि शाखाको सहयोगमा २०० किसानलाई वितरण सम्पन्न भयो , अझै १०० जना किसानलाई अपुग भएकोले २⁄४ दिनमै वितरण गर्छौ ।” वडाको माथिल्लो भेग पटुवाल, डुम्बर, नगाउँमा भने फौजी किराको प्रकोप कम रहेको लामाले जानकारी दिनुभयो ।
यसरी रोगको महामारी संगै खेतीपातीमा पनि किरा लागेपछि किसानहरु चिन्तित रहेको अवस्थामा वडाले विषादी वितरण गरेपछि खुशी भएका छन् । नेपालमा नोभल कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन तथा बन्दाबन्दी जारी गरेको २ महिना बढि भएको छ । लकडाउनका कारण प्राय मानिसहरु गाउँघरमा नै खेतीकिसानीमा व्यस्त छन् ।