• नमोबुद्ध संवाददाता

भक्तपुर– गत शनिबार काभ्रेस्थित धुलिखेल अस्पतालमा सिन्धुपाल्चोकको एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भयो । दुई दिन ढिलो गरी रिपोर्ट आएको भएपनि देशभर पहिलो संक्रमितको मृत्यु भन्दै सनसनी फैलिसकेको थियो । हल्ला भयो, तर शव उठाउने हिम्मत कसैले गरेनन् । सव–वाहन र एम्बुलेन्सहरु पनि तर्के ।

यही बेला भक्तपुरका अरुण सैंजु र राजेश गैंजुलाई कोरोना प्रुफ शववाहन लिएर धुलिखेल आइपुगे । उनीहरुकै विपद व्यवस्थापन समुह ‘आरएनए–१६’ले शव पशुपति आर्याघाट लिएर गयो र अन्तेष्टी गर्यो । यही समुहलाई भैरहवाकी एक समाजसेवी आमाले प्रोत्साहन स्वरुप ‘स्याबासी’ दिएकी छन् ।

 

महाविपत्तिको बेला समाजमा मानवीय सेवा गरि सकारात्मक सन्देश प्रवाह गरेको भन्दै विहीबार भैरहवा निवासी ८१ बर्षिया खगिसरा घिमिरेले सैंजु र गैंजुको समुह ‘आरएनए–१६’ लाई ५० हजार रुपैंया सहयोग गरेकी हुन् । दिवंगत पति थानेश्वर घिमिरे र आफ्नै नाममा स्थापित स्वर–सरा घिमिरे प्रतिष्ठानको तर्फबाट उनले सहयोग गरेकी हुन् । बर्माबाट फर्केर लामो समय नेपालमा समाजसेवामा जुटेका थानेश्वर घिमिरेको केही बर्षअघि निधन भएको थियो । यसपछि समाजसेवाको काम पत्नी खगिसराले निरन्तरता दिँदै आएकी छन् । ‘विपदको घढीमा उहाँहरुले उदाहरणीय काम गरेर देखाउनु भयो’, भैरहवाबाट लिखित सन्देश पठाउँदै उनले भनिन्, ‘सबैले प्रोत्साहन दिनुपर्छ ।’

त्यस्तै घिमिरेले एसियन फर्मास्युटिकल्स र एनसिभीको समन्वयमा ८ थान पिपिई र ६० थान ह्याण्ड स्यानिटाइजर समेत ‘आरएनए–१६’ समुहलाई उपलब्ध गराएकी छन् । फर्मास्युटिकल्सका दिपेश प्रधान र एनसिभीका यादव गौतमले भक्तपुर सुर्यविनायकस्थित सेनाको वीर दल गणमा पगेर समुहलाई नगद र स्वास्थ्य सामाग्री हस्तान्तरण गरे । नेपाल स्काउटका रोबर लिडर गैंजु र स्काउट मास्टर सैंजुको समुहलाई वीरदल गणले आपतकालिन शव व्यवस्थापनको तालिम दिएको थियो ।

कोही तयार नभएपछि यही समुहले धुलिखेल अस्पतालमा कोरोनाबाट मृत्य भएकी सिन्धुपाल्चोककी महिलाको शव व्यवस्थापनमा सघाएको थियो ।

प्रतिक्रिया दिनुहोस !