
सारा विश्वभरि नै फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोक्न सरकारले लागू गरेको लकडाउनको पहिलो तीन हप्ता पुरै नियम पालना गरेर घरमै बसियो र यो सबैको कर्तव्य पनि थियो । आफू सुरक्षित भएर अरुलाई पनि यो महामारीबाट बचाउनु अहिलेको मुख्य काम हो ।
सुरुको लकडाउनमा कर्ण शाक्यका दुईटा किताब (१) सोच र (२) खोज पढेँ । त्यसपछि दैनिकजसो गीत–सङ्गीत साधना गरेर समय बिताउने काम गरियो । तीन चार वटा गीतमा सङ्गीत भरियो । अहिलेको युग भनेको प्रविधिको युग पनि हो । मैले युटुबमा धेरै पर्यटकीयस्थलहरूका बारेमा जानकारी हासिल गरेँ । ती ठाउँहरूका बारेमा जान्ने र बुझने मौका पाइयो । नेपालमा कृषिसम्बन्धी २०÷२५ वटा भिडियो हेरँे । त्यसले कृषि सम्बन्धी धेरै ज्ञान दियो ।
लकडाउनको ४० औँ दिनमा भने ललितपुरको धापाखेल–२३ मा करिब ६०÷७० जनालाई राहत वितरण गरियो । मेरो बसाई ललितपुरको धापाखेल क्षेत्र हो । म प्रायःजसो हप्तामा ५ दिन दुई घन्टाका दरले बेलुकीको समयमा खेतैखेतै बडिखेल, चापाँगाउँ, बज्रबाराही, लेले, नंखु खोला, गोदाबारी, भैँसेपाटी लगायतमा सुरक्षित तरिकाले पदयात्रा पनि गरियो । अरु बेला प्रायः कार्यक्रम र आफ्नै व्यावसायतिर व्यस्त हुने हुँदा लकडाउनले परिवारसँग बसेर रमाइलो गर्ने, खानपिन गर्ने समय पनि दिएको छ । यसलाई सही सदुपयोग गरिँदैछ ।
लकडाउन जारी रहेको पनि अब दुई महिना पगेको छ । अहिलेचाहिँ रसियन रास्ट्रपति भ्लादिमिर पुटिनको The Man without a face र Becoming Michelle Obama भन्ने किताब पढिरहेको छु । (अशोक मुकारुङ लोकप्रिय गायक, मोडल तथा सङ्गीतकार र सेवा रेकर्डिङ स्टुडियोका सञ्चालक समेत हुनुहुन्छ ।)