-
कवि अनिता लामा
ए हे नबोल्न पनि त पाईन्छ
नबोल्नुको अर्थ,
मुखमा पट्टी कोच्नु मात्रै होइन होला
नबोलेरै आकाशले गर्छ क्रान्ति
आँधी, वर्षा र वाढीमा छलाङ मार्छ
र एक धक्का दिन्छ ‘तहसनहस’को ।
नबोल्नुको अर्थ,
मुर्दा शान्ति होइन होला,
चिताको मुर्दाले
नबोलेरै उडाउँछ भाइको टोपी
नबोलेरै उठाउँछ स्वास्नीको सिन्दुर
नबोलेरै महासागर बनाउँछ मान्छेको बेदना !
नबोल्नुको अर्थ,
बोल्ने र बोलिरहनेहरूलाई
बोलेरै भ्रम जित्न भनिएको हुनसक्छ
भ्रमको जितुवाहरूलाई
हार्न तयार गरिएको हुनसक्छ ।
नबोल्नुको अर्थ,
चुपचाप नहराईएको
शान्त नबसिरहेको
रापले पग्लिँदै, गल्दै गएर
जम्न तयार भएको
तरल घ्यू जस्तै बन्दै गरेको हुनुपर्छ
विशाल चट्टान !
सायद नबोल्नुको अर्थ,
सञ्चयमा हुनुपर्छ ‘चट्टानी दृढता’ !