• नमोबुद्ध संवाददाता

काभ्रे–आज २५६४ औं बुद्ध जयन्ती, बौद्ध धर्मावलम्वीहरूले घरघरमै विशेष स्मरण गरी मनाउँदै छन् । हरेक वर्ष बैशाख पूर्णिमाको दिन विशेष पूजापाठ, बौद्ध तीर्थस्थलहरुमा मेला भरेर मनाईने यो पर्व यस वर्ष कोरोना भाइरसको महामारीका कारण कुनै औपचारिक कार्यक्रम भने राखिएका छैनन् । नेपाल सरकारले पनि यस बुद्ध जयन्ती, चण्डी पर्वका अवसरमा सार्वजनिक बिदा दिएको छ ।

नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा करीब दुई हजार ६०० वर्षअघि सिद्धार्थ गौतम राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मी २९ वर्षका उमेरमा दरबार त्यागी ज्ञानको खोजीमा लाग्नु भएको थियो । कठोर तपस्यापछि उहाँ गौतम बुद्धका नामले प्रसिद्ध हुनुभयो । शान्तिका अग्रदूत एवं एशियाका ताराको रूपमा प्रसिद्ध महामानव गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका रूपमा महत्वका साथ स्मरण गर्ने गर्छन् ।

विशेष गरि बौद्ध तिर्थस्थलहरु काभ्रेपलाञ्चोकको नमोबुद्ध, काठमाडौँको बौद्ध, स्वयम्भू, चाबहिलस्थित चारुमती विहारलगायत बौद्ध बिहार, गुम्बा, स्तूप, चैत्यमा बुद्ध मूर्तिसहित शोभायात्रा र शान्ति पदयात्रा निकाल्ने गरिन्थ्यो । यस अवसरमा देशका विभिन्न स्थानमा बुद्धको मूर्ति र अस्थि धातुसहित प्रभातफेरी एवम् शोभायात्रा निकालिन्छ। प्रभातफेरी र शोभा यात्रामा ‘बुद्धम् शरणम् गच्छामि’, ‘धम्मम् शरणम् गच्छामि’ र ‘सङ्घम् शरणम् गच्छामि’ को नारा लगाइन्थ्यो। यस वर्ष भने कोरोनाको त्रासदीका कारण यी सबै औपचारिक कार्यक्रम नहुने भएका छन् ।

छ वर्षको तपस्यापछि ३५ वर्षका उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा बुद्धत्व प्राप्ति भयो। यसपछि बुद्धका रुपमा उहाँले विश्व प्रसिद्धि पाउनुभयो। छत्तीस वर्षका उमेरमा सारनाथमा उहाँले पहिलो पटक पाँच शिष्यलाई प्रवचन गर्नुभएको थियो जसलाई ‘धर्मचक्र प्रवत्र्तन’ भनिन्छ।

सारनाथमा चार आर्य सत्यका विषयमा बुद्धले पहिलो प्रवचन गर्नुभयो, जसमा संसार दुःख छ, दुःखको कारण छ, दुःखको अन्त्य हुनसक्छ र दुःखको अन्त्यका उपाय वा मार्ग पनि छन् भन्ने विषय थियो ।

बौद्धदर्शनका प्रा शान्तरत्न बज्राचार्य भगवान् बुद्धले बुद्धत्व ज्ञान प्राप्त गर्नुभएको मुख्य कुरा चार आर्य सत्य रहेको बताउनुहुन्छ( भव तृष्णा, विभव तृष्णा र काम तृष्णाका कारणले दुःखको उत्पत्ति हुन्छ, त्यसको निरोधका लागि निर्वाण प्राप्त गर्नुपर्छ, दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठ वटा मार्ग आर्य अष्टाङ्गिक मार्ग छन् भनी बुद्धले ज्ञान दिनुभएको थियो ।

अष्टमार्गहरुमा सम्यक दृष्टि, सम्यक कर्म,सम्यक जीविका, सम्यक वचन, सम्यक प्रयास, सम्यक विश्वास, सम्यक निश्चय र सम्यक ध्यान हून् ।यसैगरी पञ्चशीलमा चोरी नगर्नू, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नू, मद्यपान नगर्नु र हिंसा नगर्नू रहेका छन्। हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवान्को नवौँ अवतार मान्दछ। यसैकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्धजयन्ती मनाउँछन्।

प्रतिक्रिया दिनुहोस !