२४ चैत, काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गरेको हो ।

अर्थमन्त्री डा.युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि अधिकारीसहित डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र डा.राजन खनालको नाम सिफारिस गरेको थियो ।

गभर्नर नियुक्त अधिकारी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत थिए । राष्ट्र बैंककै डेपुटी गभर्नरबाट अवकास पाएका अधिकारीसँग राष्ट्र बैंकमा तीन दशक काम गरेको अनुभव छ ।

उनी यसअघि डा. चिरञ्जीवी नेपालसँगै गभर्नरमा सिफारिस भएका थिए । तत्कालीन अर्थमन्त्री डा। रामशरण महतले अधिकारीलाई सिफारिस गरे पनि सुशील कोइराला नेतृत्वको सरकारले नेपाललाई गभर्नर नियुक्त गरेको थियो ।

नेपाल ५ वर्षे कार्यकाल पूरा गरेर बाहिरिएपछि अधिकारीले गभर्नर बन्ने मौका पाएका हुन्।अनलाइनखबर

प्रतिक्रिया दिनुहोस !