-
नमोबुद्ध संवाददाता
चैत्र २३, काभ्रे– जिल्लाको धुलिखेल सामुदायिक अस्पतालले आइतबारदेखि कोरोना भाइरस (कोभिड १९) संक्रमणसम्बन्धीे परिक्षण सेवा सुरु गरेको छ । पहिलो दिन आइतबार अस्पतालले ११ जनाको कोरोना परिक्षण गरेको अस्पतालका सूचना अधिकारी डा. सूमन ताम्राकारले जानकारी दिनु भयो ।
उहाँका अनुसार आज परिक्षण गरेकाहरुको सोमबार मात्र रिपोर्ट आउछ । अस्पतालमा तत्कालका लागि कोरोना संक्रमणसम्बन्धी परिक्षण सेवा आइतबार र बुधबार मात्र रहेको र मन्त्रालयबाट आवश्यक सामाग्रीहरु आएपछि चाडै नै सबै दिनमा सेवा उपलब्ध हुने ताम्राकारले जानकारी दिनुभयो ।
आइतबार र बुधबार बाहेकका दिनहरुमा परिक्षणको अत्यावश्यक भएमा के गर्ने योजनामा हुनुहुन्छ भनेर सोध्दा सूचना अधिकारी ताम्राकारले “अस्पतालमा यो सेवा उपलब्ध हुदाँहुदै विरामीको थ्रोड स्वाबलाई अन्यत्र चाहिँ नपठाउने तर बिरामीको अवस्था अनुसार रिफर गर्ने वा अस्पतालमा उपलब्ध श्रोतले सो को निर्णय दिने बताउनु भयो” ।
अस्पतालमा कोरोना भाइरससम्बन्धी परिक्षण सेवाका लागि बाग्मती प्रदेशले रु बीस लाख आर्थिक सहयोग गरेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।