• नमोबुद्ध संवाददाता

चैत्र २३, धुलिखेल– आर्थिक वर्ष २०७६०७७ का दोस्रो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम स्थगित हुने भएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण नेपालमा पनि बढिरहेकोले सो समयसम्ममा स्थिति अनुकुल नहुने देखिएकोले कार्यक्रम स्थगित गर्ने शुक्रबार (चैत्र २१) निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस संक्रमण विश्वव्यापी महामारीको विषम परिस्थिति देशले सामाना गरिरहेको अवस्थामा सो संग सम्बन्धित गतिविधि बाहेक अन्य कार्यक्रम बन्द रहेको सो समयमा हालको परिस्थिति सुधार हुने अवस्था समेत नभएकोले पछि अर्को सूचनाद्धारा जानकारी गराउने गरि हालको लागि राष्ट्रिय भिटामिन ए कार्यक्रम दोस्रो चरण स्थगन गरिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय भिटामिन ए कार्यक्रम स्थगन सम्बन्धि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै प्रदेश र स्थानिय तहहरुलाई जानकारी गरिएको छ । राष्ट्रिय भिटामिन ए कार्यक्रम ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरुलाई सहभागी गराई बैशाख र कार्तिक महिनामा गरि हरेक वर्ष दुईपटक सन्चालन हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस !