• नमोबुद्ध संवाददाता

चैत्र २३,काठमाडौं – स्वास्थ्यकर्मीहरुको लागि पीपीई अभाव भइरहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) १ हजार थान प्राप्त गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रालयलाई १ हजार थान पीपीइ प्राप्त गरेको आफ्नो आधिकारिक सामाजिक संजालमार्फत जानकारी दिनुभएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राप्त गरेको एक हजार थान व्यक्तिगत सुरक्षा सामग्री पिपिइ तीन सय( ३००) थान माननीय शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पहलमा नेपाल भारत मानव विकास मैत्री संघको तर्फबाट र सात सय (७००) थान एनएमबी ग्रुपका तर्फबाट प्राप्त गरेको छ।

उहाँले भन्नुभयो– “मन्त्रालयमा प्राप्त पिपिइ गुणस्तर परीक्षण गरी प्रत्येक प्रदेशमा एक सय थानका दरले हस्तान्तरण गरिने छ । कोरोनाविरूद्धको अभियानमा सम्पूर्ण नागरिकको साथ पाइरहेका छौ । सरकारले स्वाथ्यर्मीका निम्ति आवश्यक सामाग्री अभाव हुन नदिने प्रतिबद्धता दोहोर्याउन चाहन्छु । पिपिइ सहयोग गर्ने संस्थालाइ हार्दिक धन्यवाद ।”

 

प्रतिक्रिया दिनुहोस !