
-
नमोबुद्ध संवाददाता
चैत्र २२, धुलिखेल–काभ्रे जिल्लामा रहेको काठमाडौं विश्वविद्यालयले लकडाउन लम्बिदै गएपछि विद्यार्थीलाई अनलाईन शिक्षण सिकाई सुरु गरेको छ ।
कोरोना भाइरस कोभिड १९ को संक्रमणको नियन्त्रण तथा रोकथामका लागि लकडाउन गरिदा प्राय सबै शिक्षण संस्थाहरु पनि बन्द रहेको अवस्थामा केयुले नयाँ विकल्प अपनाउन थालेको हो ।
लकडाउनको अवस्थामा सेमेष्टर प्रणालीमा अध्ययन अध्यापन भइरहेको विद्यार्थीहरुको पढाई निर्धारित समयमा नसकिने निचोडमा पुगेको केयुले विद्यार्थीहरुलाई खाली समयको पनि सदुपयोग हुने भन्दै यो विकल्प सुरु गरेको बताईएको छ ।
काठमाडौ विश्वविद्यालयका सात वटै विद्यालयहरुले अहिले अनलाईन शिक्षण सिकाई सुरु गरेको श्रोतले बताएको छ। विश्वविद्यालयले यो अवसर लिन सबै विद्यार्थीलाई आग्रह पनि गरेको छ ।