
-
नमोबुद्ध संवाददाता
धुलिखेल–लकडाउनको समय थप गरिएको अवस्थामा आफ्नो दैनिकी गुजारा गर्न कठिन भएका परिवारलाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियू) काभ्रेले बिहीवार पनौती नगरपालिकालाई राहत सहयोग गरेको छ ।
नगरपालिकाले १७ प्रकारको दैनिक उपभोग्य सामाग्रीहरु तत्कालको लागि प्रत्येक वडामा १० घरधुरी अति बिपन्न परिवारलाई दिने निर्णय गरेको थियो । यसमा अखिल काभ्रेले हातेमालो गरेको हो ।
अखिल काभ्रेका संयोजक उपेन्द्र शर्माले नगरपालिकाले तयार पारेको सुचि अनुसार एकवटा वडालाई पुग्ने राहत सामाग्री पनौती नगरपालिकाको राहत सहयोग संकलन केन्द्र (खाद्य भण्डार) प्रमुख तथा पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीलाई हस्तान्तरण गरेको जानकारी दिनुभयो ।
उक्त सामाग्री पनौती नगरपालिका मार्फत वडा नं १ मा वितरण कार्यक्रम पनि सम्पन्न भएको छ । राहत वितरण कार्यक्रममा पनौती नगरपालिका उपप्रमुख गीता बन्जारा, वडा नं १ अध्यक्ष गुणनाथ सापकोटा, नेकपा नेता रामचन्द्र सापकोटा, अखिल काभ्रेका अध्यक्ष उपेन्द्र शर्मा, अनेरास्ववियू जिल्ला नेताहरु लगायतको उपस्थिति रहेको थियो ।
अनेरास्ववियू काभ्रेका संयोजक उपेन्द्र शर्माले हस्तान्तरण कार्यक्रममा नगरपालिकाले राहत वितरणमा अन्य नगरपालिका भन्दा पहिले व्यवस्थित रुपमा संकलन केन्द्र स्थापना गरि एकद्वार प्रणाली अनुसार वितरण गर्न लागेकोमा खुसी व्यक्त गर्दै बास्तबिक बिपन्न वर्गले राहत पाउनबाट बन्चित नहोस् भन्ने अनुरोध गर्नु भयो ।
अखिल काभ्रेले अभियानको रुपमा नै राहत वितरण गरिहेकोमा बुधबार बनेपा नयाँ बस्तीमा ४० परिवारलाई र प्राधिकरण चोकमा १ गरि ४१ ज्यालादारी मजदुर परिवारलाई पनि राहत वितरण गरेको थियो ।