-
नमोबुद्ध संवाददाता
काभ्रे–जिल्लाको नमोबुद्ध नगरपालिकाका जनप्रतिनिधिहरुले आफ्नो एक महिनाको सेवा सुविधा बापत रकम प्रकोप व्यवस्थापन कोषमा सहयोग गर्ने भएका छन् । सोेमबार नगर प्रमुख टि.पि.शर्मा तिमल्सिनाको अध्यक्षतामा बसेको नगर कार्यपालिका बैठकमा यस्तो निर्णय भएको हो ।
विश्वभर महामारीको रुपमा फैलिरहेको नोभल कोरोना भाईरसका कारण देश पाँचौ चरणकोे लकडाउन अर्थात बन्दाबन्दीमा छ । यस अवस्थामा संक्रमण रोकथामका लागि र विपन्न साथै मजदुर परिवारलाई राहत वितरणका निमित्त नगरपालिकाले कोष खडा गरेको छ ।
११ वडा रहेको नगरपालिकामा अहिले राहत वितरण भईरहेको छ । कतिपय वडाले पहिलो चरणको राहत वितरण सम्पन्न गरी लकडाउनको अवस्था हेरेर दोश्रो चरणको राहत वितरण गर्ने तयारी समेत गरेका छन् ।
अब दैनिक अत्यावश्यक सामानका पसलहरु संचालन गर्न पाइने
नमोबुद्ध नगरपालिकाको मुख्य व्यापारिक केन्द्र वडा नं ७ मा रहेको भकुण्डे र नौविसे बजार अब दैनिक रुपमा संचालन गर्न पाइने भएको छ । यस अघि हप्ताको दुई दिनमात्रै खुल्ने निर्णय वडा कार्यालयले गरेको थियो ।अब दैनिक बिहान ७ बजेदेखि १० बजे सम्म खाद्यान्न, तरकारी, फलफुल र मासु जन्य पसल खोल्न पाइने भएको नमोबुद्ध उद्योग वाणिज्य संघले जनाएको छ ।