-
नमोबुद्ध संवाददाता
काठमाडौं–सरकारी प्रयोगशालाहरुमा मात्र परिक्षण भइरहेको कोभिड—१९ कोरोना भाइरस परीक्षण अब निजी क्षेत्रका प्रयोगशालाहरुले पनि गर्न पाउने भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ परीक्षणका लागि प्रयोगशालाको न्यूनतम मापदण्डको ‘गाइडलाइन फर दी इस्ट्याबलिसमेन्ट एण्ड अपरेशनलाइजेसन अफ मोलिक्युलर ल्याबोरेटोरिज फर कोभिड १९’ नामको निर्दे्शिका जारी गरेसँगै निजी प्रयोगशालाहरुले पनि कोभिड १९ कोरोना भाइरस परीक्षण गर्न पाउने भएका हुन् ।
यसरी मापदण्ड पूरा गर्ने निजी प्रयोगशालाहरुलाई पनि कोभिड १९को परीक्षण गर्ने बाटो खुलेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । तर सञ्चालन मापदण्ड पूरा गर्ने प्रयोगशालाले मन्त्रालयबाट छुट्टै अनुमति लिनुपर्ने छ ।
हालसम्म सरकारी तहबाट मुलुकभर पिसिआर प्रविधिबाट कोभिड १९ परीक्षण गर्ने प्रयोगशालाहरुको संख्या १६ पुगेकोमा अब निजी प्रयोगशालाहरुमा पनि कोभिड १९ को परिक्षण गर्ने तयारी गरेको छ ।