नमोबुद्ध संवाददाता
काठमाडौं–भोजपुरे समाजसेवीहरूको पहलमा कोरोना विरुद्धको लकडाउनका यो अवस्थामा राजधानीमा समस्यामा रहेका आफ्ना जिल्लाका नागरिकहरूलाई शनिबार राहत वितरण गरिएको छ ।
करिब ५ सय भोजपुरे विद्यार्थी, मजदुर एवम् विपन्न नागरिकलाई घरघरमै पुगी राहत उपलब्ध गराइएको समाजसेवी रेजिन श्रेष्ठले जानकारी दिनुभयो ।
मनकारी दाताहरूबाट राहतका लागि प्राप्त राहत सामग्री लकडाउन लम्बिदै जाँदा दैनिक जीवनयापनको समस्यामा रहेका उपत्यकाका भोजपुरे नागरिकलाई घरघरमै गएर राहत उपलब्ध गराएको उहाँले स्पष्ट पार्नुभयो । साथै घर जान चाहने सयौँ भोजपुरे नागरिकलाई धरानसम्म यातायातको व्यवस्था समेत गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार पारूहाङ राई, पासाङदोर्ची शेर्पा, भीम ढकाल, उमेशजंग थापा, तिलक अधिकारी, गोपीकृष्ण न्यौपाने, रेजिन श्रेष्ठ, राजकुमार कार्की, सुजन राई, शशीकला रोकाहा, दयाकृष्ण न्यौपाने, राजेश न्यौपाने, मनकुमार शेर्पा, नारायण न्यौपाने, शारदा घले, नयन थापा, श्रीकृष्ण श्रेष्ठ, गोविन्द बस्नेत, देवराज श्रेष्ठ, देव चोङवाङ राई लगायतको सक्रियतामा यसखाले राहत उपलब्ध तथा व्यवस्थापन गरिएको हो ।