-
कृतिका घलान
काभ्रे–कोरोना भाइरस (कोभिड १९) संक्रमणको नियन्त्रण तथा रोकथाम लागि लागू गरेको लकडाउनका कारण अलपत्र परेका पैदलयात्रीहरुलाई बाग्मति प्रदेश सरकारले व्यवस्थापन गर्ने भएको छ । बाग्मति प्रदेशभित्र मजदुरी गर्ने जुनसुकै प्रदेशका र अन्य प्रदेशमा समेत बसेका बाग्मति प्रदेशका स्थानिय जनतालाई प्रदेशगत समन्वयमा गन्तव्यमा पुग्न सघाउने तथा अस्थायी व्यवस्थापन गर्ने प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले नमोबुद्धखवरलाई जानकारी दिनुभयो ।
उहाँले भन्नु भयो –“ प्रदेशले बाग्मती प्रदेशअन्तर्गतका १३ वटा जिल्लाको हकमा स्थानिय सरकारसंगको समन्वयमा पैदलयात्रीलाई जहाँको त्यहिँ बस्ने भए पनि उनीहरुका आधारभूत आवश्यकता खाना बस्न व्यवस्था गर्नुे वा घरमा फर्किन चाहनेलाई सवारी साधनको व्यवस्था गर्नेछौं,अन्य प्रदेशको हकमा अन्तरप्रदेशसंग समन्वय गरि आफ्नो प्रदेशमा जान चाहनेलाई आवश्यक खानाको व्यवस्था र सवारीसाधनको व्यवस्था गरि जानदिने निर्णय भएको छ।” नेपालमा कोरोना भाइरसको संक्रमित संख्या बढ्दै जाँदा सरकारले लकडाउनलाई थप कडाई गर्दा विचल्ली हुने मजदुर तथा यात्रुका लागि प्रदेश सरकारले यस्तो निर्णय गरेको मन्त्री जमकट्टेलले स्पष्ट पार्नुभयो ।
लकडाउनको समयअवधि चौथो चरणसम्म थप्दा सहरमा दैनिक मजदुरी गरि जिविकोपार्जन गर्ने मानिसहरुलाई खाना र बस्न समस्या भएपछि उनीहरु हप्ता दिन हिडेर गाउँ जान बाध्य छन् । अहिले लकडाउनलाई कडाईका साथ लागू गर्दा उनीहरुनै बढि मारका परेको परिस्थितिमा बाग्मती प्रदेश सरकारले यस्तो निर्णय गरेको हो ।
साथै लकडाउनको अवस्थामा एम्बुलेन्सहरुले समेत सहयोग गर्न आनाकानी गरेको गुनासो आएकोतर्फ प्रदेश सरकारको ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्री जमकट्टेलले ति एम्बुलेन्स सेवालाई जिल्लाको कमाण्ड पोष्टले समन्वय गर्न निर्देशन दिएको बताउनु भयो ।