
मिति २०७६/१२/१८
प्यारो छोरा विप्लव,
सिभिल सर्बिस हस्पिटल, काठमाडौ।
मलाई राम्रो थाहा छ, कोभिड–१९को कारण विश्वमा मानव जाति माथि ठुलो विपत आइपरेको छ। यसको सामना गर्न विश्वका माहाशक्ति राष्ट्रहरुलाई चुनौती बनेको छ। आणविक शस्त्र–अस्त्र निमाणको लागि बनाइएका भट्टीहरु यस युद्घमा निस्काम भएका छन्। यो महामारीको त्रासबाट भयभित भई सो भाइरसको सामना गर्न म स्वयम तिमी बाहेकका परिवारका सदस्यहरुलाई लिएर होम क्वारेन्टाइनमा बसी, महाभारतको यूद्धमा धृतराष्टले दरवार भित्र बसेर संजयको माध्यमबाट नरसंहार हेरेझै म पनि टुलु टुलु कोभिड–१९को कारण विस्वमा भएको नरसंहार हेरी बस्न विवस छु।
आज बाट सरकारले यसै महामारीको सामना गर्न होम क्वारेन्टाइनमा नबस्नेलाई जेल र नगद जरिवानाको समेत घोषणा गरी लक डाउन जारी गरेको छ। सेवामा खटिएका स्वास्थकर्मीहरुको सुरक्षाको लागि नेपाल सरकारले विवादकै घेरामा भएपनि व्यक्तिगत सुरक्षा उपकरण (पि.पि.ई) खरिद गरि ल्याईसकेको छ। स्वास्थ कर्मीको मनोवल उकास्न २५ लाखको बिमाको घोषणा गरी तिमीहरुलाई ललिपप पनि देखाएकोे छ। त्यो रकम यदि तिमी जिवित रहे तिमीले पाउने छैनौ। तिमी मरेर पाउने रकम मलाइ चाहिएको छैन। तिमीलाई जन्माउने मातृभुमी नेपाल हो। नेपाल नभएको भए तिमी नेपाली हुन पाउने थिएनौ। तिमी भित्र सलवलाएको रगत नेपाल आमाको रगत हो। तिम्रो सरिरमा एक मुठ्ठी रगत र प्राण रहेसम्म नेपाल र नेपालीको सेवा गर्नु तिम्रो परंम कर्तव्य हुनेछ।
नेपालमा हरेक १० हजार जनसंख्या बरावर एक स्वास्थकर्मी पर्ने रेकड स्वास्थ मंत्रालयलेनै निकालेको कुरा तिमीलाई वितित नै छ। तिमी डाक्टर भएको कारणले १० हजार नेपालीको स्वास्थको रेखदेख गर्नु तिम्रो पनि जिम्वेवारी हो। तिमी बाचेर १० हजार नेपाली मरको मेरो लागि सैहृ हुने छैन। मैले चीन लगायत विश्वमा कोरोना भाइरस बाट पिडित रोगीहरुको सेवामा संलग्न रहदा स्वयम् आफैलाई रोग संक्रमण भई डाक्टरहरु मरी रहेका घटना,र दृश्यहरु मैले संचार माध्यमहरु बाट देखिरहेको छु । एक डाक्टर मर्नु भनेको १० हजार नेपाली मर्नु हो भन्ने नेपालको स्वास्थ क्षेत्रको आँकडालाई हेर्दा पुष्टि हुन्छ ।
यो तिमीजस्ता स्वास्थ्यकर्मीहरुलाई चुनौति र अवसरको मौका पनि हो । संकटको बेला देश र जनताको सेवा गरी मातृभूमि प्रतिको ऋण चुक्ता गर्ने शुभ अवसर पनि हो, जसले तिमीलाइ फ्लोरेन्स नाइटिडगेल जस्तो महान स्वास्थ्यकर्मी बन्ने अवसर पनी प्रदान गर्न सक्ने छ। चुनौति त तिम्रो सामु तिमी रहने वा नरहने पनि हुनसक्छ । स्वस्थ्यकर्मीहरुको प्रथम कार्य आफू सुरक्षित रही सेवारत स्थानमा पीडितहरुलाई सेवा गर्नु हो। आफू बाँचे मात्र सेवा वा उद्दार गर्न सकिन्छ , यसतर्फ तिमीहरुको रक्षाको लागि सुरक्षाकवचको रुपमा नेपाल सरकारले पि. पि.ई लगाएतको उपकरणको व्यवस्था गर्ने नै छ ।
यस्ता विनासकारी महामारीहरुले विश्वमा सन १३४७–१३५१ मा व्ल्याक डेथको नामबाट २० करोड मानिसको मृत्यु भएको थियो । सन् १५२० देखि बिफरको कारण ५ करोड ६० लाख मानिसको मृतु भएको थियो। सन् १८१७–१८२३ मा हैजाले १० लाख भन्दा बढि मानिसको मृतु भएको थियो। सन् १९१८–१९१९ मा स्पेनिस फ्लु बाट ४० करोड र हाल सन् २०२० मा कोभिड–१९ को कारण आज सम्ममा ३३२५७ जनाको मृतु भइसकेको छ। (भिउजल क्यापिटलिस्ट २ २०२०) विश्वमा यस्ता महामारीहरुको सामना तिमीजस्ता स्वास्थ्यकर्मीहरुले पटक पटक गरी बिजय प्राप्त गरीसकेको इतिहास छ। यस्ता महामारीहरु माथि बिजय प्राप्त गर्नु तिमीजस्ता स्वास्थ्य कर्मीहरुको लागि गौरवगाथा हो ।
म यसबेला त्यो इतिहास सम्झिरहेको छु जुनबेला कोरीयाका महान नेता किम इल सङ कोरीयाली स्वतन्त्राको युद्धमा लडिरहदा चिनीया क्रान्तिका महान नेता माओत्सेतुङले उक्त स्वतन्त्रताको लागि सहयोगि भूमिका निर्वाह गर्न आफ्ना छोरा माओ इनको नेतृत्वमा सैनिक सहयोग पठाएका थिए। माओलाई राम्रो सगँ थाहाथियो युद्धमा कि त मारीन्छ कि त मरीन्छ । उनका छोरा माओ इनले त्यही युद्धमा विरगति प्राप्त गरे। के माओलाई छोराको माया थिएन र? हो यसबेला म त्यही पाठ पढिरहेकोछु। देशमाथि आई परेको यो विकराल महामारीमा तिमी र तिमीजस्ता स्वास्थ्यकर्मीहरु चाहे सेवारत रहेका हुन् वा घर बसिरहेका हुन उनीहरुको पहिलो पेसागत धर्म रोगीहरुको उपचार र सेवा गर्नु नै हो ।
राजधानीजस्तो सुबिधायुक्त स्थानमा बसेरमात्र हैन देशको दुर्गम स्थानहरुमा सरकारले तिमीहरुलाई पुग्नसक्ने वातावरण बनाएर कोरोना विरुद्धको युद्धमा लडी बिजय प्राप्त गर्नु पर्नेछ । बाचे फ्लोरेन्स नाइटिडगेल, जाँ हेनरीडुना र मदर टेरेसा जस्तास्वास्थ्य क्षेत्रमा विश्व प्रसिद्ध नक्षेत्र बन्ने अवसर पनी प्राप्त गर्न सक्ने छौ । विश्वस्त छु यो युद्धमा तिम्रो बिजय सुनिश्चित छ ।
हाम्रो चिन्ता नलिनु कोरनाबाट संक्रमितहरुको सेवाको अग्रदस्तामा तिम्रो नाम सुन्न र देख्न पाउँ तबमात्र तिम्रो जन्मसार्थकता र मेरो आत्माले शान्ति पउने छ। युद्धपछीको विजय उत्सवमा भेटौला।
तिम्रो माया गर्ने पिता
(विश्वम्भर लामिछाने)
जर्बुट्टा कला संग्रहालय सिन्धुली
डा.श्रवणकुमार (टेकु अस्पताल)को फेसबुकबाट