
-
नमोबुद्ध संवाददाता
काभ्रेको महाभारत गाउँपालिकामा कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि कामहरु तीव्ररुपमा बढाएको छ । यसैक्रममा गापाको वडा नं. ५ बुढाखानीमा संचालित हेल्थ डेक्समा हालसम्ममा १५०० जना भन्दा बढिको स्वास्थ्य जाँच भएको स्वास्थ्य शाखा प्रमुख हरि सिं विष्टले जानकारी दिनु भयो ।
उहाँका अनुसार गाउँपालिकाको मुख्य नाकामा संचालित हेल्थ डेक्समा गाउँपालिकाभित्र आवतजावत गर्नेहरुको स्वास्थ्य जाँच (ज्वरो नाप्ने, खोकी, टाउको दुख्ने) भइरहेको छ । अहिले लकडाउन उलंघन गरि राती आवतजावत गर्नेहरुलाई पनि स्वास्थ्यकर्मीहरुले काम गरिरहेको जनाउनु भयो । अहिलेसम्ममा जाँच गर्दा कोरोनासंग मिल्ने कुनै लक्षण नदेखिएको बताउनु भयो ।
गाउँपालिका भित्र विदेशबाट आएका १ जना (वडा नं. २का) रहेको र उहाँलाई स्वास्थ्य शाखाको निगरानीमा होम क्वारेन्टाइनमा राखेको छ । परिवार र छिमेकीलाई पनि सतर्कता अपनाउन तर नआत्तिन सुझाएको बताउनु भयो ।
गाउँपालिकाको प्रत्येक वडाहरुमा ५ ⁄ ५ बेडकोे र महादेवटारमा १० बेडको क्वारेन्टाइन बनाएको छ । गाउँपालिकाभित्र कसैलाइ पनि कोरोना भाइरसबाट हुने लक्षणहरु नदेखिएको र आशंकामा स्वास्थ्य चौेकीहरुमा बिरामीहरु नभेट्टिएको स्वास्थ्य शाखा प्रमुख हरि सिं विष्टले नमोबुद्धखबरलाई जानकारी दिनुभयो ।