• नमोबुद्ध संवाददाता

पनौती-काभ्रेको पनौती नगरपालिकाले नगरभित्र कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि विदेशबाट आएकाहरुको लगत संकलन गरि होम क्वारेन्टाइनमा बस्न परामर्श दिएकाे छ ।

फागुन १५ देखि चैत्र १७ गते सम्ममा विभिन्न देशहरुबाट आएका ९५ जनाको लगत नगरपालिकाले संकलन गरेको छ । तिमध्ये सबैभन्दा बढि नगरपालिकाको वडा नं.१२ मा २३ जना रहेको छ ।

पनौती नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार उनीहरुसंग नियमित अनुगमन तथा सम्पर्कमा रहि स्वास्थ्य जांच तथा सेल्फ क्वारेन्टाइनमा बस्न र क्वारेन्टाइनका नियम पालना गर्न परिवारलाई समेत स्वस्थ्यकर्मी तथा जनप्रतिनिधिबाट परामर्श गरिएको जनाएको छ । धुलिखेल अस्पतालको आइसोलेसनमा रहेको परिवार लाई होम क्वारेन्टाइनमा राखिएको र स्वास्थ्यकर्मिबाट अनुगमन गरि आवश्यक परामर्श दिइएको नगरप्रमुख भिम न्यौपानेले जानकारी दिनुभयो ।

स्वास्थ्य शाखाको पहलमा यस भाइरसको नियन्त्रणका लागि नगरपालिकामा उपलब्ध एम्बुलेन्स चालकलाइ व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई¬) उपलब्ध गराइनुका साथै स्वस्थ्यकार्मी र स्वस्थ्य संस्थालाई आवश्यक पर्ने औषधि उपकरणको तत्कालका लागि अत्यावश्यक ब्यबस्थापन गरिएको उहाँले बताउनुभयो ।

नगर प्रमुख न्यौपानेका अनुसार प्राथमिक स्वस्थ्य केन्द्र खोपासिमा १० बेडको क्वारेन्टाइन तयार गरिएको, पनौती (७ स्थित रंगशाला कभर्ट हलमा तुरुन्तै शुरु गर्न सकिने गरि ४० बेडको तयारी अवस्थामा राखिएको छ ।

नगरको स्वास्थ्य शाखाले अहिले सबै स्वास्थ्य संस्थामा फिबर क्लिनिक संचालनमा ल्याउनुका साथै वडा नं. ७,१०,११,६,८,१२,२,३,१,५ सम्ममा डिस्इन्फेक्ट्यान्ट स्प्रे छर्कने कार्य सम्पन्न गरिसकेको छ । बाँकी वडाहरुमा क्रमश यो कार्य सम्पन्न गर्ने तयारीमा नगरपालिका छ ।

प्रतिक्रिया दिनुहोस !