फाइल तस्वीर,
नमोबुद्ध संवाददाता :
धुलिखेल–काभ्रे डाँडापारि क्षेत्रको खानीखोला गाउँपालिकाले स्वास्थ्य संस्था नजिकका विद्यालय भवनलाई क्वारेन्टाइन कक्ष बनाउने भएको छ । गाउँपालिकाका ७ वटा वडा नजिक रहेका माध्यमिक विद्यालयहरुलाई गाउँपालिकाले क्वारेन्टाइन कक्ष बनाइन लागेको हो । पालिका अध्यक्ष खुलालले भन्नुभयो –‘स्वास्थ्य संस्था नजिकका विद्यालयहरुलाई क्वारेन्टाइन बनाउने निर्णय गरेका हौं ।’
निर्णयअनुसार वडा नं. १ को धार्नेमा हेल्थ डेस्क स्थापना गर्ने र नजिकै रहेको धार्नेज्योती माध्यमिक विद्यालयलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने, वडा नं. २ को फलामेटार स्वास्थ्य चौकीमा हेल्थ डेस्क सञ्चालन गर्ने र नजिकै रहेको बालविकास माध्यमिक विद्यालयलाई क्वारेन्टाइन बनाइदैछ ।
त्यसैगरी वडा नं. ३ को भृकुटी माध्यमिक विद्यालयलाई क्वारेन्टाइन बनाउने भएको छ । वडा नं. ४ को डाँडागाउँ स्वास्थ्य चौकी र जगथलीमा हेल्थ डेस्क स्थापना भएको छ । जगथलीकै कुमारी माध्यमिक विद्यालयलाई क्वारेन्टाइन बनाउने भएको छ । त्यसैगरी वडा नं. ५ को ताल्ढुंगामा हेल्थ डेस्क स्थापना गर्दै जनविकास माध्यमिक विद्यालयलाई क्वारेन्टाइन बनाउने भएको छ ।
वडा नं. ६ को साल्धारा स्वास्थ्य चौकीमा हेल्थ डेस्क निर्माण भएको छ भने शारदा माध्यमिक विद्यालयमा क्वारेन्टाइन स्थापना हुने भएको छ । वडा नं. ७ को मिल्चे स्वास्थ्य चौकीमा हेल्थ डेस्क स्थापना गरिएको छ । यहाँकै बुद्ध माध्यमिक विद्यालयलाई क्वारेन्टाइन कक्ष बनाइदैछ ।
यसैबिच गाउँपालिकाले विदेशबाट आउनेहरुको तथ्यांक संकलन थालेको छ । गाउँपालिका अध्यक्ष खुलालका अनुसार उनीहरुको तथ्यांक संकलन गरी क्वारेन्टाइनमा पठाउन गाउँपालिकाले तयारी थालेको छ ।
उनीहरुलाई कोरोना भाइरस संक्रमणको लक्षण देखिएको खण्डमा गाउँपालिकाको एम्बुलेन्समार्फत् शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु लैजाने व्यवस्था गाउँपालिकाले गर्नेछ ।
सूचना सामाग्री सहयोग–उज्यालो नेटवर्क