नमोबुद्ध संवाददाता :

काठमाडौं–नेपाली मौलिक बाजाहरूको अर्केष्ट्रा बनाउनेबारे सरोकारवालाहरुले चासो देखाएका छन् । यस सम्बन्धमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको पहलकदमीमा राजधानीमा हालै सम्बन्धित विधाका विज्ञहरूबिच गहन विमर्श समेत भयो । परम्परागत मौलिक नेपाली बाजाहरूको अर्केष्ट्रा के कसरी तयार पार्न सकिन्छ भन्नेबारे यस्तो विमर्श भएको हो ।

प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठले प्रज्ञा–प्रतिष्ठान नयाँ कामहरूको तयारीतर्फ केन्द्रित भएको सुनाउँदै यसमा अर्केष्ट्रा बनाउने मुख्य योजना रहेको उल्लेख गरे । यसका लागि बहृत् विचार गोष्ठी आवश्यक रहेको औल्याउँदै उनले पहिलो चरणमा सुझाव लिन विमर्श आयोजना गरिएको स्पष्ट पारे ।

उनले भने –‘ नेपाली परम्परागत मौलिक बाजा र तिनका धुनहरूको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्न अर्केष्ट्रा आवश्यक देखिन्छ, यसका लागि कोरोनाको सन्त्रास हटेपछि बृहत् विमर्श गोष्ठीको आयोजना गर्नेछौं ।’

उपकुलपति हरिहर शर्मा, सदस्य सचिव श्यामप्रकाश तमोटले प्रज्ञा–प्रतिष्ठानको गतिविधबारे प्रकाश पार्दै प्रतिष्ठानको उद्देश्य अनुरुपनै अर्केष्ट्रा निर्माणमा जुट्ने बताए ।

प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक राईको पनि उस्तै भनाई छ । उनका अनुसार यो मौलिक नेपाली लोकबाजा र धुनहरूको अभिलेखीकरणको प्रक्रिया हो । उनले भने– ‘मौलिक नेपाली बाजाहरूको धुनमात्रै सुनाएर अब पुग्दैन । यो कुरा मनोरञ्जनका लागि मात्रै होइन कि नेपाली लोपोन्मुख बाजा र ती बाजाका धुनहरूलाई आम जनताको सम्पत्ति बनाउन आवश्यक छ ।’

अर्केष्ट्राविद् हस्तबहादुर थापाले नेपाली मौलिक बाजाहरूको अर्केष्टा तयारी सह्रानीय विषय रहेको बताए । अहिले हामीकहाँ जेजस्ता बाजाहरू छन् तिनैबाटै नेपालीपन झल्किने अर्केष्ट्रा तयारी पारिनु राम्रो हुने उनको सुझाव छ ।

यस्तै शुभबहादुर सुनामले बाजाहरूको स्केलिङका साथै बाजाको समूह तयार गर्नु जरुरी रहेको उल्लेख गर्दै अर्केष्ट्रा तयार पारेपछि त्यसको व्यवस्थापनको दीर्घकालीन योजना बनाउनुपर्ने बताए ।

संगीतकार किशोर गुरुङले किशोर गुरुङले अर्केष्ट्रको स्वरूपमा मौलिक बाजा र धुुनलाई लैजाँदा त्यसको नैतिक जिम्मेवारीको पनि कुरा युरोपतिर उठ्ने गरेको उदाहरण दिँदै नेपालमा पनि त्यस्तो कुरा उठ्न सक्ने भएकाले त्यसतर्फ बेलैमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।

उनले नेपालमा अर्केष्ट्रा बुझेका वाद्यवादकको अभाव रहेको उल्लेख गर्दै पोेलिफोनी नसकिए पनि मोनोफोनिमा जाँदा राम्रो हुने बताए ।
संगीतकार प्रकाश गुरुङ, राजकुमार श्रेष्ठ, शिलाबहादुर मोक्तान, राजु सिंहले पनि मौलिक नेपाली परम्परागत बाजाहरूको अर्केष्ट्रा तयारीबारे खुसी व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस !