• नमोबुद्ध संवाददाता

धुलिखेल । कोराना भाइरस (कोभिड १९) बाट संक्रमित भएकी युवती सवार विमानमा १५८ जना रहेको खुलेको छ । उनीहरु मध्ये १२५ जनासँग सम्पर्क स्थापित भएको छ भने अरुसँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको छ । मन्त्रालय उच्च स्रोतका अनुसार संक्रमित युवती ‘क्यूआर ६५२’ विमानबाट आएको पाइएको छ ।

चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।उनको टेकु अस्पतालमा उपचार भइरहेको छ ।

त्यो दिन कतार एयरवेजको तीन वटा विमान काठमाडौंमा अवतरण भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्यागमन विभागसँग तीन वटै विमानमा रहेका यात्रुको विवरण मागेको थियो ।
साथै उनीसँग कतारबाट काठमाडौंसम्म यात्रा गरेकाहरुको खोजी सुरु भएको छ ।

मन्त्रालयले उक्त विमानमा रहेका सबै १५८ यात्रुको विवरण प्रहरी प्रधान कार्यालय पठाएको छ र, उनीहरुसँग सम्पर्क गरेर स्वास्थ्य परीक्षण र निगरानी गर्न भनेको छ ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार अहिलेसम्म उनीहरुमध्ये १२५ जनासँग सम्पर्क स्थापित भएको छ । उनीहरुलाई स्वास्थ्य जाँच गरेर होम क्वारेन्टाइनमा बस्न भनिएको छ ।
बाँकी ३३ जना संग अहिले सम्म सम्पर्क स्थापित हुन बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस !