• कृतिका घलान

कोभिड १९ (कोरोना भाइरस) रोगको परिक्षणको लागि तेमाल गाउँपालिकाले गाउँपालिकाको मुख्य आवतजावत केन्द्रहरुमा हेल्थ डेक्स संचालन गर्ने भएको छ । हेल्थ डेक्स गाउँपालिकाको बोहारेदोभान र कालीमाटीमा संचालन हुनेछ ।

कालीमाटीको हेल्थ डेक्स भोली (चैत्र ७ )बिहान ६ बजे देखि सेवा सुचारु हुनेछ र प्रत्येक दिन साँझ ६ बजे सम्म सेवा दिने गाउँपालिकाको उप–प्रमुख दुर्गामाया तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार हेल्थ डेक्समा गाउँपालिकाकै कर्मचारीहरु १ जना स्टाफ नर्स, १ जना अहेव का साथै १ जना प्रहरी पनि हुनेछ । कर्मचारीहरुको लागि पालिकाले विशेष सुविधा (खाजा, खाना र आवास) को पनि व्यवस्था गरेको छ ।

डेक्समार्फत गाउँपालिकामा आवतजावत गर्ने सम्पूर्ण मानिसहरुको स्वास्थ्य परिक्षण (तापक्रम, खोेकीको अवस्था ) का साथै भाइरसबाट सतर्कता अपनाउन सचेतनामुलक सन्देश पनि आदानप्रदान हुने जानकारी दिनुभयो ।

बौद्धमार्गीहरुको प्रमुख धार्मिक पर्यटकिय क्षेत्रको रुपमा तेमाललाइ लिने गरेको पाइन्छ । जहाँ विशेष मेला बाहेकको समयमा पनि धेरै मानिसहरुको आवतजावत हुने गरेको पाइन्छ ।

अहिले विश्वव्यापी रुपमा महामारीको रुप लिएको कोरोना भाइरसबाट सतर्कता अपनाउनका लागि गाउँपालिकाले चालेको यो कदमले जनस्वास्थ्यमा सकारात्मक सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !