-
नमोबुद्ध संवाददाता
विश्वमा महामारीको रुपमा फैलिरहेको कोभिड १९ (कोरोना भाइरस) को अवस्थालाइ मध्यनजर गर्दै स्वास्थ्य प्राविधिक संघ (पान) काभ्रेले जनचेतनामुलक सन्देशको साथमा अनुरोध गरेको छ ।
पान नेपाल स्वास्थ्यकर्मीहरुको पेशागत संगठन हो । सम्पूर्ण स्वास्थ्यकर्मी आफू सुरक्षित रहि समुदायमा रहेका सबैलाई बचाउने नीति अनुरुप स्वास्थ्य सेवा एकजुट रहने प्रतिबद्ध र जनताको स्वास्थ्यप्रति संवेदनशील रहेको धुलिखेल नगरपालिकाका स्वास्थ्य संयोजक तथा पान नेपाल काभ्रे जिल्ला समितिका अध्यक्ष सन्दिप केसीले जनाउनु भयो ।
छिमेकी मुलुक चीनको वुहानबाट सुरु भएको भाइरस अहिले नेपालसंग तीन भाग सीमाना जोडिएको छिमेकीमुलुक भारतमा पनि फैलिरहेको छ । भौगोलिक रुपमा चीनभन्दा भारत नजिक रहनुका साथै खुल्ला सीमाना, दुई देशका नागरिकहरुको आवतजावतले नेपाल पनि अछुतो हुन नसकिने बताउछन् ।
सरकारले आजदेखि सुरु हुने माध्यमिक शिक्षा परिक्षा लगायत विश्वविद्यालयका परिक्षा स्थागितका साथै चैत्र महिना भरि शैक्षिक संस्थाहरु बन्द गर्ने जस्ता निर्णय गरेको छ । यसबाट आम जनता आफै पनि भाइरसबाट बच्नका लागि सावधानी अपनाउनु पर्ने देखिन्छ ।