-
नमोबुद्ध संवाददाता :
न्युयोर्क–अमेरिकास्थित भ्वाइस फर युथ(युवाका लागि आवाज)ले हिमालयन मोतियाबिन्दु परियोजनालाई ७,११२ अमेरिकी डलर हस्तान्तरण गरेको छ ।
विगत दुई वर्षदेखी मूलतः अमेरिकामा अध्ययन वा कामको सिलसिलामा रहेका युवाहरु लक्षित कार्यक्रमहरु गर्दै आएको यो संस्थाले हालै एक कार्यक्रम पश्चात सहयोग स्वरुप नगद हस्तान्तरण गरेको प्रेस विज्ञप्तिमार्फत जनाएको हो ।
आँखा विशेषज्ञ डाक्टर सन्दुक रुईतको ‘मोटिभेसनल स्पिच’ कार्यक्रमपछि सोही कार्यक्रममा उठेको सहयोग परियोजनालाई हस्तान्तरण गरिएको स्पष्ट पारिएको छ ।
परियोजनाले काठमाण्डौं तिलगंगा आँखा प्रतिष्ठानसँग सहकार्य गर्दै आएको छ, जसको सहयोगका कारण हजारौं दृष्टिविहिनहरुले संसार देख्न पाइरहेका छन् ।
युवाहरुलाई अध्ययनमा प्रोत्साहन गर्दै करिअर निर्माणमा सहयोग पुर्याउने र सकारात्मक सोचको विकास गराउने उद्देश्य अनुसार संस्थाले गर्दै आएका विविध कार्यक्रमहरुमध्ये मोटिभेसनल स्पिच कार्यक्रम प्रभावकारी र सफल मानिन्छ ।
यस प्रकृतिको कार्यक्रम तेस्रो पटक गरिसकेको कार्यक्रम निर्देशक एवम् संस्थापक छिरिङ योञ्जन लामाले बताउनुभयो ।
पछिल्लो पटक गत फेब्रुअरी १५ मा भएको सो कार्यक्रममा आँखा विशेषज्ञ डा.रुईतले आफ्नो जीवन भोगाई संघर्ष,सफलताका सुत्रहरु बताउँदा सहभागिहरु निकै उत्प्रेरित भएका थिए ।
आँखाको उपचारमा नविनतम पद्धतिको विकास गरेका रुईतले एसियाको नोवेल पुरस्कार मानिने रोमन म्यागसेसे जस्ता अन्तराष्ट्रिय पुरस्कार प्राप्त गरिसक्नुभएको छ ।