• कृतिका घलान:

धुलिखेल–काभ्रेको महाभारत गाउँपालिका स्वास्थ्य शाखाले स्थानिय जनप्रतिनिधिहरुका लागि बुधबार दादुरा रुवेला खोप कार्यक्रम तथा कोरोना भाइरस सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरेको छ ।

गाउँपालिकाका प्रमुख कान्छालाल जिम्बा, उप–प्रमुख चेतकुमारी माझीदेखी स्थानिय क्षेत्रबाट प्रतिनिधित्व गर्ने कार्यपालिका सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा आउने चैत २ गतेबाट सञ्चालन हुने दादुरा रुवेला खोप अभियान सञ्चालनमा जनप्रतिनिधिहरुले खेल्नुपर्नेे भुमिकाबारे प्रकाश पारिएको थियो ।

यो अभियान महाभारत गाउँपालिकामा प्रभावकारी बनाउन खोपकेन्द्र,त्यसमा खटाउने जनशक्ति,खोप मात्राको स्थिती लगायतका विषयमा छलफल भएको थियो ।

साथै विश्वव्यापी रुपमा संक्रमण फैलिदै गएको कोरोना भाइरस आतंक,यसबाट बच्न अपनाउने सावधानीबारे पनि छलफल भएको महाभारत गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

विश्व स्वास्थ्य संगठन, दक्षिणपूर्वी एसियाको सेप्टेम्वर २०१९ को निर्णयानुसार सन् २०२३ सम्ममा दक्षिणपूर्वि एसियाबाट दादुरा रुवेला रोग निवारण गर्ने निर्णय भएअनुसार नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट यो अभियान गाउँगाउँसम्म सञ्चलान गर्ने गरेको हो ।

प्रतिक्रिया दिनुहोस !