• नमोबुद्ध संवाददाता :

काठमाडौं–उनि भुटानमा जन्मे,उतैका नागरिक थिए तर सन् १९९० मा त्यहाँ चलेको राजनीतिक आन्दोलनपछि देशबाटै लखेटिए । १० वर्षको कलिलो उमेरमा पूर्खाको भुमि नेपाल भासिए शरणार्थीको रुपमा । ९० हजार शरणार्थीसँगै उनि पनि अनेक हण्डर खाएर बसे पूर्वि नेपालको झापा बेलडाँगी शिविरमा ।

हालै राजधानीमा सांगीतिक सिर्जनाहरूको एल्बम ‘सम्भव’ विमोचनका क्रममा विगतका सघंर्षमय यात्रा सम्झदै गायक ज्ञान घिसिङले भने–‘दुर्भाग्य हो कि अहोभाग्य,आज म अमेरिकामा जीवन चलाउँदैछु,सांगीतिक कर्म पनि संगै अघि बढ्दैछ र आज पुख्र्यौली माटोको सम्झनामा यि गीतहरु गाएको छु ।’

तेस्रो मुलुक पुनर्वासको क्रममा अमेरिका रोजेका उनले यो एल्वमभित्रका थुप्रै गीतमा भने आफ्नै जीवनका पूर्व परिवेशहरु खोतलेका छन् । गीतका शव्दहरु नेपाली माटो,मौलिक जीवनशैली र संस्कृतिभित्रै उधिनिएका छन् ।

बरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङ,बुद्ध दर्शन जानकार तथा संस्कृतिविद् मुनसेल दोर्जे लामा,वृद्धाआमा फूलमाया तामाङको बाहुलीबाट एल्बम विमोचन गर्दै उनले तामाङ मातृभाषा,खस नेपाली भाषा र संस्कृतिपरक गीतसंगीतमै रुचि रहेको उल्लेख गरे ।

उनले भने–‘म खासगरी त शब्द कोर्नु रुचाउँछु,यिनै बेला म आफ्नो बाल्य परिवेश,पुर्खाको माटोलाई सम्झिन्छु,मलाई अहिले नेपाली भाषा राम्रोसँग आउँछ,अमेरिकामा हाम्रा भाषा टिच गर्ने काम पनि गरिरहेको छु ।’

आफ्नो सांगीतक करिअर निर्माणको दौरानमा जीवनसाथीको महत्वपूर्ण साथ रहेको बताउँदै उनले नेपालमा आफ्ना संगीत सिर्जना पस्किन पाउनुलाई पनि अहोभाग्यको रुपमा व्यक्त गरे ।

समारोहमा उनको ‘गोरो गोरो मुहार….’सेलो गीत र आधुनिक गीत ‘हेर जुनलाई….’ भिडियोसहित सार्वजनिक गरिएको थियो । सागर लामाको कोरियोग्राफीमा ‘वरपिपलको सितल चौतारी…’ लगायत गीत भने लाईभ डान्स फरफमेन्समार्फत प्रस्तुत गरियो ।

गोरो गोरो मुहार..बोलको सेलोमा उनले ‘थिम्पु’,याम्बु’ र ‘युएस’ जस्ता शब्द समावेश गरेर भुटान हुदै नेपाल र अमेरिकासम्मको जीवन यात्रा जोड्न खोजेका हुन् । जहाँ मोडलिङ उनैले गरेका छन् ।

उनको यो एल्बममा ‘पिरतीको सितलु’,‘यहि हो यहि हो’,‘ढिक्च्याउँ ढिक्च्याउँ’ सहित ६ वटा गीत समावेश छन् । जसमा शब्द रचनामा स्वयम् ज्ञानका साथै ओम सुनार र अमोश तामाङ पनि जोडिएका छन् ,आवाजमा भने निर्मला घिसिङ,दिपा लामा,मेलिना राईको साथ छ ।

एल्वम विमोचन समारोहमा वरिष्ठ गायक तथा संगीतकार दोङले गायक घिसिङ मौलिक देखी आधुनिक गीत संगीतमा समेत अब्बल क्षमताका साथ प्रस्तुत भएको बताए । उनले भने ‘यो सम्भव भन्ने शब्दनै सकारात्मक छ,यसले जीवनलाई हेर्ने दृष्टिकोण अझ फराकिलो बनाउँछ,उहाँमा जुन संगीतको ज्ञान छ,यसले फराकिलोपना र उचाई लिनेमा म विश्वस्त छु, घिसिङ भान्जालाई शुभकामना छ ।’

कार्यक्रममा तामाङ कलाकार संघका अध्यक्ष सञ्जिव वाईबा,उपाध्यक्ष विश्व दोङ,शसिकला मोक्तान,गायिका निर्मला घिसिङ,तामाङ पत्रकार संघका केन्द्रिय कोषाध्यक्ष थिर्तमान वल तामाङ,संगीतकार सुसन लामा,ओम सुनार लगायतले गायक घिसिङलाई सफलताको शुभकामना दिए ।

प्रतिक्रिया दिनुहोस !