-
नमोबुद्ध संवाददाता:
तेमाल–काभ्रेको तेमाल गाउँपालिका १ सस्र्यूंखर्कमा वडा खोप समन्वय समिति गठन गरिएको छ । वडाध्यक्ष मान बहादुर श्रेष्ठको अध्यक्षतामा शुक्रबार वडा कार्यालयमा बसेको सरोकारवाला तथा स्थानीयहरूको भेलाबाट वडाध्यक्ष श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको हो ।
समितिमा वडा सदस्यहरु, सामुदायिक स्वास्थ्य इकाईका प्रमुख, जनचेतना मावि व्यवस्थापन समितिका अध्यक्ष र जनचेतनासहित स्थानिय विद्यालयहरुका शिक्षक प्रतिनिधिहरू चयन भएका छन् ।
भेलालाई सहजिकरण गर्दै वडाध्यक्ष श्रेष्ठले स्थानिय बालबालिका तथा मातृशिशु स्वास्थलाई ख्याल गरी यो समिति गठन गरिएको बताउनुभयो ।
चैत २ देखि ५ सम्म दादुरा रुबेला खोप अभियान चलाईने
सस्र्युंखर्क स्वास्थ्य इकाईका प्रमुख लोकनाथ(राजु) चिमौरियाले आउंदो चैत २ गते देखि ५ गतेसम्म सञ्चालन हुने दादुरा रुबेला खोप अभियानमा वडा खोप समन्वय समितिको विशेष भुमिका रहने बताउनुभयो ।
यो अभियान बारेको योजना तर्जुमा तथा अभिमुखिकरण कार्यक्रमको सहजिकरण गर्दै उहाँले भन्नुभयो–“हाम्रा स्वास्थ्य संस्थाले प्रत्येक महिना गाउँगाउँमा खोप सेवा प्रदान गर्दै आएका छौं तर यो पटक पनि बालबालिका छुट्नु भएन किनकि सरकारले अभियानको रुपमा ल्याएको खोप कार्यक्रम हो यो,यसले पुरकको काम गर्छ ।”
चिमौरियाका अनुसार जन्मेर ९ महिना पुगेका बालबालिकालाई पहिलो मात्रा र १५ महिनामा दादुरा रुबेला खोपको दोस्रो मात्रा दिइन्छ तर यो अभियानमा यस अघि यसरी खोप लिएका वा नलिएका थप ५ वर्ष उमेर समूहका बालबालिकालाई समेत अनिवार्य समेट्ने लक्ष्य रहेको छ । दादुरा रुबेला खोपबाट वञ्चित भएमा आरएनए भाइरसका कारण बालबालिकामा खतरापूर्ण असर हुनसक्दछ ।
यो अभियान सञ्चालन गर्न सर्स्यूंखर्कका ४ ठाउँमा खोप केन्द्रहरू तोकिएका छन् । २०७६ चैत २ गते विहान १० बजे सिमभञ्ज्याङ प्रावि भैंसेबाट वडा नम्बर १ मा दादुरा रुबेला खोप अभियान थालिने वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै चैत ३ गते भुपालेश्वर प्रावि शिखरकटेरी, चैत ४ गते पञ्चकन्या आवि आधाबाट र चैत ५ गते सामुदायिक स्वास्थ्य इकाई सर्स्यूंखर्कमा खोप अभियान चलाईने छ ।
अभियानका लागि प्रत्येक केन्द्रमा दक्ष स्वास्थ्य कर्मी र स्वास्थ्य स्वयंसेवक तथा स्वयम्सेवक सहित कम्तीमा ३ जनाको टोली परिचालन गरिनेछन् । वडाध्यक्ष श्रेष्ठले भन्नुभयो–“अहिलाईचाँहि खोप अभियानलाई फलदायी बनाउन अनुगमन गर्ने र तोकिएका उमेर समुहका कुनै पनि बालबालिका नछुटुन् भनेर खोज खबर गर्नु वडा स्तरीय खोप समन्वय समितिको कर्तव्य हो ।”