• नमोबुद्ध संवाददाता:

काठमाडौं-झापा सुरुङ्गास्थित कन्काई प्रतिभा प्रतिष्ठानको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवं काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पाैडेलको बाहुलीबाट कवि प्रयागराज काफ्लेको कविता सङ्ग्रह “भुइँमान्छे”को लोकार्पण गरिएको छ ।

प्रा. डा .पाैडेलले प्रयागका कविताहरूमा विषयगत विविधता र शिल्पगत एकरूपता रहेकाे बताउँदै प्रयाग राम्राे सम्भावना बाेकेकाे कविका रूपमा उदाएकाे चित्रण गर्नुभयाे ।

लोकार्पित उक्त कविता कृतिको समीक्षा सूर्य अधिकारी र जीवनाथ सुवेदीले गर्नुभएको थियो ।

प्रतिष्ठानका अध्यक्ष कोमलप्रसाद पोखरेलको अध्यक्षतामा हालै सम्पन्न कार्यक्रममा पुण्यप्रसाद खरेल, केशव आचार्य, रूद्र चिमरिया, हरिनारायण भट्टराई, ईश्वरी सिवाकोटी, कर्ण डाँगी, लक्ष्मी अच्युत ढुङ्गाना, सुमित्रा वाङ्देल चेली, गोपालप्रसाद तिवारी लगायतका स्रष्टाहरू सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रममा देवीचरण भण्डारी, केशव आचार्य, टीका भट्टराई नेपाल, योञ्जन सुनुवार, मिना अधिकारी, भुवन आदिम, आदिले कविता,गीत गजल आदि सुनाउनुभयो । साथै मातृका संग्रौलाले भने बाँसुरी बजाई सबैलाई मुग्ध पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस !