• नमोबुद्ध संवाददाता

धुलिखेल–काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले सोमबार आफ्नो ३४ औ स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । स्थानिय कला संस्कृति झल्कने वाजागाजासहितको र्याली निकालिनुका साथै केहि समिक्षा र केहि विकासका कार्यक्रमको उद्घाटन गर्दै स्थापना दिवस मनाएको हो ।

दिवसको अबसरमा प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा काभ्रेभन्ज्याङमा निर्मित जननेता स्व.मदन भण्डारीको शालिक अनावरण तथा पार्क उद्घाटन गरिएको छ ।

त्यस्तै औपाचारिक रुपमा आयोजित स्थापना दिवस मूल समारोहमार्फत नगरका वडा नं ३,४,५,६ र ७ लाई बाल मैत्री वडा घोषणा गरिएको छ ।

समारोहमा नगरको समग्र बिकासमा योगदान गर्ने व्यक्तित्वहरुलाई विभिन्न मानपदवीद्वारा सम्मानित गरिएको छ भने किसानहरुलाई कृषि सामग्री हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री ओली,बिशेष अतिथिको रुपमा नेपाल सरकारका प्रवक्ता तथा माननीय संचार तथा सूचना प्रविधि र शहरी विकास मन्त्री गोकुल बाँस्कोटा, खानेपानी तथा सरसफाई मन्त्री विना मगर,अतिथिमा संघीय तथा प्रदेश सभा सदस्यहरु,जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु,कार्यालय प्रमुखका साथै हजारौ नगरवासीको उल्लासमय सहभागिता थियो ।

प्रधानमन्त्रीद्धारा सञ्चारमन्त्री र मेयर व्यञ्जलाई हौसला

कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागि प्रधानमन्त्री ओलीले संघीय सरकारमा जुझारु र प्रभावशाली नेताको छवि बनाउदै आएका सञ्चारमन्त्री बाँस्कोटा र स्थानिय सरकारहरु मध्येमा धुलिखेल नगरका मेयर अशोक व्यञ्जुको कार्यशैलीप्रति खुसी व्यक्त गर्दै द्धयलाई हौसला प्रदान गर्नुभयो ।

काभ्रेमा उदाहरणीय व्यक्तित्वको रुपमा स्थानिय सरकारका नेतृत्वहरुले व्यञ्जुको सिको गर्नुपर्ने उहाँको भनाई छ ।

सरकारले गरेका राम्र कामको सकारात्मक सन्देश प्रवाह गरी सरकारप्रति जनआस्था र भरोसा कायम राख्न प्रवक्ता बाँस्कोटाले जत्तिको काम अरुले गर्न नसकेको जिकिर गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो–‘काभ्रे राष्ट्रकै लागि प्रतिभाहरु जन्माउने थलो बन्दै गएको प्रमाणित भएको छ ।’

     फोटो सौजन्य : सिवि तामाङ 

प्रतिक्रिया दिनुहोस !