• नमोबुद्ध संवाददाता

काठमाडौं–नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले ‘समाज रुपान्तरणमा नाटकको भूमिका र नेपाली नाट्य प्रस्तुतिको समकालीन धार’ विषयक विचार गोष्ठी तथा अन्तरक्रिया बुधबार सम्पन्न गर्यो । कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति नारायण भक्त श्रेष्ठले सभाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपत्र प्रस्तुतीका साथै रंगकर्मीहरुबिच छलफल चल्यो ।

रङ्गकर्मी चन्द्रप्रसाद पाण्डेले ‘नेपाली समाज रुपान्तरणमा नाटकको भूमिका’ विषयक र प्रविण पुमाले ‘नेपाली नाट्य प्रस्तुतिको समकालीन धार’ विषयक कार्यपत्र प्रस्तुत गरेका हुन् ।

कार्यपत्रमा पाण्डेले नेपालको इतिहासको विभिन्न कालखण्डमा नाटकको विकासक्रम र नाटकले ती कालखण्डमा नेपाली समाजमा पारेको प्रभाव उल्लेख गरेका थिए ।  कार्यपत्रमाथि टिप्पणी गर्दै वरिष्ठ नाट्यकर्मी अशेष मल्लले कार्यपत्र प्रस्तोताले शिर्षक अनुरुपको सामाग्री प्रस्तुत गर्न नसकेको दावी गरे । कार्यपत्रमा नाटकको लेखन पक्ष र रङ्गमञ्चीय पक्ष प्रष्ट नहुँदा प्रस्तोतामा अन्योलता देखिएको उनको भनाई थियो ।

त्यस्तै गोष्ठीको दोस्रो सत्रमा पुमाले प्रस्तुत गरेको कार्यपत्रमा नाट्य प्रस्तुतिको समकालीन धारलाई वैचारिक नाट्यधार र प्राविधिक नाट्यधार गरी दुई धारमा वर्गीकरण गरी चर्चा गरे ।  उक्त कार्यपत्रमाथि डा. विन्दु शर्माले एउटै संस्थाबाट प्रस्तुत भएका दुई कार्यपत्रको संरचना र अनुसन्धान विधि फरक रहेको टिप्पणी गरे । कार्यपत्रमा समकालिन धारको आधार विन्दु प्रष्ट नभएको उनको तर्क छ ।

कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद सदस्य रमेशरञ्जन झाले गोष्ठीको नामाकरणकै विषयमा सुझाव दिए । गोष्ठीमा प्रस्तुत गरिएका विषयवस्तु महत्वपूर्ण रहेको बताउँदै उनले नेपाली नाटक भन्नु्को सट्टा नेपालको नाटक भन्दा राष्ट्रका मातृ भाषाहरुलाई पनि समेट्ने तर्क गरेका हुन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगत प्रसाद उपाध्यायले नाटक भावना प्रवाहित गर्ने सर्वाधिक प्रभावकारी विधा भएको जिकिर गरे ।
नाटकका विषयमा बहस हुनु खुसीको कुरा भएको भन्दै यसका माध्यमबाट थुप्रै रङ्गकर्ममा लागेकाहरुमा ज्ञान अभिवृद्धि हुने नाटक निर्देशक घिमिरे युवराजको धारणा छ ।

प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले नाटक लेखक र नाट्यकर्मी बीच विचार मन्थन आवश्यक रहेकोमा केही हदसम्म यस गोष्ठीले त्यसको थालनी गरेको बताए । उनले गोष्ठीमा कार्यपत्रमाथिको टिकाटिप्पणीलाई मनन गर्दै कार्यपत्रमा थप सुधार गर्दै पुर्नलेखन गरिने प्रतिवद्धता पनि जनाए ।

प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव श्याम तमोटको सहजिकरणमा भएको गोष्ठीमा वरिष्ठ नाट्यकर्मी सुनिल पोखरेल, सम्राट सापकोटा, घिमिरे युवराज लगायतका नाट्यकर्मीहरुले आफ्नो विचार व्यक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस !