
-
नमोबुद्धद्ध संवाददाता
काठमाडौं–नेपाल प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनामा बुधबार भव्यताका साथ राष्ट्रिय गजल महोत्सव सुरु भएको छ ।
कमलादीस्थित प्रज्ञा भवनमा झण्डै एक हजार साहित्य प्रेमी तथा देशभरका गजलकारहरुको उपस्थितीमा प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले दिप प्रज्वलन गरी महोत्सवको उद्घाटन गर्नुभएको हो ।
कुलपति उप्रेतीले नेपाली साहित्यमा मौलिक गजलधारको विकासमा यो महोत्सव फलदायी कदम हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो–‘गजल वाचन कार्यक्रमहरु थुप्रै भए,आज युवाहरुले निकै रुचाएको साहित्यको यो विधामा अझ नेपाली मौलिकता जोड्न चाहेका छौं,यसबाट छलफल गरी दिशा निर्देश गर्न मद्धत पुग्ने विश्वास छ,यसमा नेपाल सरकार तथा राष्ट्रिय युवा परिषदले निकै उदार भएर हामीलाई साथ दिईरहनुभएको छ,सरकार हाम्रो भरोसा बनेको छ । ’
प्रतिष्ठानका पूर्व कुलपति वैरागी काँईलाले युवा साहित्यीक मनहरुको उत्सव सुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘आज निकै खुसी हुनुपर्ने दिन हो,ज्ञानवाकर पौडेल,बुंद रानाहरुको सपनाले मुर्त रुप लिएकोले उत्सव मान्नुपर्ने हो ।’
वरिष्ठ गजलकार ज्ञानवाकरले ढिलै भएपनि सरकारको साहित्यिक अंगले गम्भीरतापुर्वक गजल साहित्यलाई बुझेको दिनको रुपमा यो गजल महोत्सवलाई लिएको बताउनुभयो । तीसको दशकदेखी गजल साहित्यमा पहिचान बनाउँदै आउनुभएका पौडेलले सके प्रत्येक वर्ष,सम्भव नभए दुई–दुई वर्षमा गजल महोत्सव गर्नुपर्ने सुझाव दिनुभयो ।
राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गर्न पाउँदा गर्व लागेको बताउनुभयो । युवा मनको सम्मान गर्दै नेपाली युवा तथा युवा साहित्यकारहरुमा लोकप्रिय विधाको महोत्सवमा सहकार्य गरेको उहाँले स्पष्ट पार्नुभयो ।
प्रतिष्ठानका काव्य विभाग प्रमुख एवं महोत्सव संयोजक प्रा.डा. हेमनाथ पौडेलले नेपालमा गजल साहित्यको विकासमा यो महोत्सव कोशेढुंगा हुने दावी गर्नुभयो ।
प्रज्ञा–प्रतिष्ठानको इतिहासमा पहिलोपटक आयोजना गरिएको गजल महोत्सवमा दुई कार्यपत्र प्रस्तुती र गम्भीर छलफल समेत गरी नेपाली साहित्यीक क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्ने उहाँको प्रतिवद्धता छ ।
प्रतिष्ठानका सदस्य सचिव जगत्प्रसाद उपाध्यायले प्रज्ञा प्रतिष्ठानले नेपाली साहित्यका विविध विधामा कार्यक्रमहरु गर्दै आएको जानकारी गराउनुभयो । आगामी दिनहरुमा पनि यस खाले महोत्सवलाई निरन्तरता दिन उत्साहित हुने अवस्था यो महोत्सवले सृजना गर्ने उहाँको विश्वास छ ।
महोत्सवको पहिलो दिन दिउँसो सातै प्रदेशबाट पाँच÷पाँचजना प्रतिनिधि गजलकारका साथै उपत्यकाबाट प्रतिनिधिगत रुपमा दर्जनौं गजलकारहरुले गजल प्रस्तुत गरे,साँझ भने आमन्त्रित वरिष्ठ गजलकारहरु र गायकहरुबाट गजल वाचन तरन्नम् गरिएका छन् ।
दोस्रो दिन माघ १६ गते अपराह्न ४ बजेसम्म विविध कार्यतालिका छ,महोत्सवकै अवसरमा प्रतिष्ठानद्वारा प्रकाशित ‘प्रज्ञा आधुनिक नेपाली गजल’ र ‘प्रज्ञा नेपाली बाल गजल’को लोकार्पण गर्ने तयारी छ ।
पहिलो सत्रमा भने गजलसम्बन्धी बहस हुनेछ,बहसमा ‘नेपाली गजल परम्परा र प्रवृत्ति’ शीर्षकमा टीकाराम उदासीले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ भने डा. घनश्याम न्यौपाने र घनेन्द्र ओझाले ‘गजल सिद्धान्त र नेपाली गजलमा बहरको प्रयोग’ शीर्षकमा गोष्ठीपत्र प्रस्तुत गर्नुहुनेछ । त्यस्तै अर्को सत्रमा ‘आजको गजल लेखन,चुनौती र दिशा’ विषयमा परिसंवाद समेत चल्नेछ ।
वृहत छलफल,विचार विमर्शपश्चात बुधबार साँझ गजलसम्बन्धी महत्वपूर्ण घोषणापत्र जारी गर्दै महोत्सवको समापन हुनेछ । महोत्सवको समापन युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माबाट हुने महोत्सव प्रचारप्रसार उपसमिति संयोजक शशी लुमुम्बुले जनाउनुभयो ।