• नमोबुद्ध संवाददाता

काठमाडौं-तामाङ समुदायको सोनाम ल्होछारको सुरुवातमा शनिबार राजधानीको टुँडिखेलमा आयोजित समारोहमा यिनका अगुवाहरुले सरकारको कटाक्ष गरे ।

सोनाम ल्होछार मुल समारोहको उद्घाटनका लागि प्रमुख अतिथीको रुपमा निम्त्याईएका राष्ट्रपति विद्या भण्डारी उपस्थित नभएपछि राष्ट्रपति र सरकारको कडा आलोचना भएको हो ।

जातिय मुक्ति,पहिचान एवम् सांस्कृतिक जागरण केन्द्रित सांस्कृतिक समारोहमा पहिचानको नारा जोडेकै कारण प्रमुख अतिथि बन्न राष्ट्रपतिले अस्वीकार गरेको उनिहरुको आरोप थियो ।

राष्ट्रपतिको अनुपस्थितिमा लामाबोन्बोको झाँकीबाट औपचारिक उद्घाटन गरिएको कार्यक्रममा सत्तारुढ दल नेकपाको आदिवासी जनजाति महासंघका सह-ईन्चार्ज कमान सिं लामाले शासकहरुले तामाङ आदिवासी जनजातिहरुलाई सत्ताको भर्याङ मात्रै बनाएको आरोप लगाउनुभयो ।

सबैको साझा संस्था मानिएको राष्ट्रपतिबाट समेत यो समुदायले अपमान खेप्नु परेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो-‘राष्टपतिलाई ताम्सालिङले पोल्यो अरे,हामीबाट तर्सिएको कि हेपिएको ? आज हाम्रो आतिथ्यतालाई इन्कार गरेर हाम्रो अपमान भएको छ, शासकहरुको असली रुप थप उजागर भएको छ ।’

शासकवर्गको मिलेमतोमै यसरी विभेद भइरहेको उल्लेख गर्दै उहाँले प्रदेश ३ को नामाकरण पहिचानको आधारमा नगरिएकोमा आक्रोश जनाउँनुभयो ।

‘जब पहिचानको मुद्दा बागमतीमा सेलाउने षड्यन्त्र सुरु भयो, त्यहि बेला मैले पार्टीको जनजाति महासंघकाे सह-ईन्चार्जबाट राजीनामा बुझाएँ तर यसप्रति सत्ता चलाउने हाम्रै दल गम्भीर देखिएन ।’-पूर्व राजदुत लामाले भन्नुभयो ‘ अझै हामीलाई सुन्न चाहिरहेका छैनन्,हाम्रो कुरा नसुन्न हो भने सबै दलले किन चलाइरहेका छन् जातिय जनवर्गीय संगठन ? वास्तवमा हामीमाथि बारम्बार अन्याय भईरहेको छ ।’

यद्यपि राजनीतिबाट टाढा रहे अधिकार हासिल गर्न मुस्किल पर्ने तर्क गर्दै लामाले तामाङहरूले आ-आफ्नै दलमा जोडिएर समुदायको लागि संघर्ष गर्नु पर्ने बताउनुभयो ।

पहिचान र अस्तित्वको लडाईमा आफू नेवा-ताम्सालिङ आन्दोलनको नेतृत्वका लागि तयार रहेको उहाँको भनाइ छ ।

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम, प्रदेश सांसद प्रेम तामाङ, नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले लगायतले उत्पिडित जातिलाई हेयालु व्यवहार देखाउने राष्ट्रपतिको शुभकामना नचाहिएको बताए ।

बरामले भन्नुभयो-‘हामीलाई त्यस्तो शुभकामना चाहिएको हैन, ताम्सालिङ चाहिएको हो, मारेर बाग्मतीमा सेलाएको नठाने हुन्छ, अवश्य एकदिन ल्याएरै छाड्छौं ।’

कांग्रेसले पनि प्रतिपक्षीको भुमिका निर्वाह नगरेको उल्लेख गर्दै उहाँले पहिचान स्थापित गर्न उसको पनि विश्वास गर्ने आधार नभएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !