नमोबुद्ध संवाददाता :
काठमाडौं-२८५६ नम्यु सोनाम ल्होछार(नयाँ वर्ष)को शनिबार तामाङ समुदाय लगायतले भव्यताका साथ स्वागत गरिएको छ ।
ल्हो परम्परा मान्दै आएका यि समुदायले नयाँ वर्ष सुरुवात भएको उल्लासमा शहर देखि गाउँ-गाउँ सम्म विविध कार्यक्रमहरु गरेका छन् ।
घरआँगनमा लुङदर दर्ज्यु फहराउनुका साथै नयाँ गोइलो धारण गर्ने,शुभकामना आदानप्रदान, दिपावली, आफन्त तथा इष्टमित्र भेटघाट, मिष्ठान्न भोजन, नाचगान जस्ता कार्यक्रम आयोजना गरेका हुन् ।
ल्होछारको अवसरमा शनिबार नेपाल तामाङ घेदुङ, तामाङ राष्ट्रिय घेदुङ लगायतका जातिय संस्थाहरुले संघीय राजधानीको टुँडिखेलमा वृहत समारोह आयोजना गरेका छन् । बाजागाजा, भेषभुषा सहितको र्याली निकालिएको छ ।
औपचारिक उद्घाटनका लागि निम्त्याईएका राष्ट्रपति विद्या भण्डारी उपस्थित नभएपछि ल्होछार मुल समारोह समितिले लामाबोन्बोको झाँकीसाथ कार्यक्रमको थालनी गरिएको छ ।
यसका साथै काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर, रामेछाप, दोलखा, नुवाकोट लगायतका जिल्लाहरुमा पनि औपचारिक समारोहका बीच ल्होछारको भव्य स्वागत भईरहेको छ ।
प्रवासी तामाङ तथा नेपालीहरुले मलेसिया, दुबइ,कतार, बहराइन, अष्ट्रेलिया, दक्षिण कोरिया, साईप्रस, कुवेत,जापान, अमेरिका लगायतका देशहरूमा पनि विविध कार्यक्रमहरु गरिरहेका छन् ।
ल्होछारको पूर्व सन्ध्यासम्ममा पुरानो काम सकाउने, पुरानो ऋण तिर्ने, ल्होछारको दिन विगतमा भएका कामको समिक्षा गर्दै कमजोरी सच्याउँदै अघि बढ्न प्रतिक्षा गर्ने, पुजाआजा तथा दान गर्ने,नयाँ कामको सुरुवात गर्ने र यो दिन वा भोलिपल्ट मान्यजनबाट आशीर्वाद टिका ग्रहण गर्न ईष्टमित्र कहाँ आउजाउ गरिन्छ ।
सोनाम(किसान) ल्होछार विशेष गरेर किसान तथा श्रमजीवी आदिवासी जनजाति समुदायले मनाउँदै आएका छन् ।
प्रत्येक माघ शुक्ल प्रतिपदा(मलमास बाहेक)मा नेपालका साथै
तिब्बत, भारत, लाओस, भियतनाम लगायतका हिमाली समुदायले समेत सोनाम ल्होछार भव्यताका साथ मनाउने गर्दछन् ।