नमोबुद्ध संवाददाता
काठमाडौँ – नेपाल भ्रमण वर्ष २०२० को बुधबार औपचारिक शुभारम्भ गरिएको छ । काठमाडौंको दशरथ रंगशालामा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको सुरुवात गर्नुभयो ।
यसका साथै नेपालका विभिन्न जिल्ला तथा पनौती नगरपालिका,नमोबुद्ध,धुलिखेल लगायत स्थानिय तहरुमा पनि आ–आफ्नै तरिकाले भ्रमण वर्षको सुरुवात भएको घोषणा गरिएका छन् ।
सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने र अबको १० वर्षलाई पर्यटन दशकको अभियानको रूपमा अगाडि बढाउने आधार वर्षको रूपमा वर्ष २०२० लाई लिइएकोले यस अनुसारका कार्यक्रमहरु गर्ने उद्घोषका साथ मुलुकभर नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ गरिएको हो ।
भ्रमण वर्षलाई महाअभियानको रुपमा लिनुपर्ने राष्ट्रपतिको भनाई
काठमाडौंमा आयोजित राष्ट्रिय समारोहमा भ्रमण वर्षको सुरुवात गर्दै राष्ट्रपति भण्डारीले भ्रमण वर्षलाई महाअभियानको रुपमा लिनुपर्ने बताउनुभयो ।
उहाँले पर्यटनलाई आर्थिक समृद्धिको रूपमा अंगिकार गर्दै ठुलो अभियानको रुपमा सञ्चालन गर्न आग्रह गर्नुभएको हो ।
भ्रमण वर्ष सफल पार्न सबै नेपाली एकजुट हुनुपर्ने राष्ट्रपतिको आग्रह थियो । उहाँले पर्यटन क्षेत्रको विकासका लागि योजनाबद्ध कार्यक्रम ल्याउन नसके सम्भव नहुने धारणा राख्नुभयो ।
सांस्कृतिक तथा प्राकृतिक हिसाबले विविकधीकरण भएकाले सबैखालका पर्यटकलाई आकर्षित गर्न सकिने उहाँको भनाइ थियो ।
संसारकै उत्कृष्ट गन्तव्यस्थल सगरमाथा, गौतमबुद्धको जन्मस्थल लुम्बिनी, चितवन, अन्नपूर्ण लगायतका क्षेत्रमा भ्रमण गर्न उहाँको आग्रह थियो ।
राष्ट्रपति भण्डारीले प्रकृतिलाई बिगारेर नभई सिंगारेर पर्यटकलाई आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो ।
समृद्ध नेपाल सुखी नेपालीको आधार नै भ्रमण वर्ष : पर्यटन मन्त्री
औपचारिक समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले समृद्ध नेपाल सुखी नेपालीको आधार नै भ्रमण वर्ष रहेको दावी गर्नुभयो ।
उहाँले नेपाल संसारकै एक अद्वितीय प्राकृतिक सम्पदायुक्त मुलुक भएकाले भ्रमण गर्न आउन विश्व समुदायलाई आग्रह गर्नुभयो ।
सन् १९५१ देखि विदेशी पर्यटकका लागि नेपाल भ्रमण गर्न खुल्ला गरिएको जानकारी दिँदै मन्त्री भट्टराईले पछिल्लो समय पर्यटन क्षेत्र नै नेपालको आर्थिक विकासको महत्वपूर्ण आधार बनेको उल्लेख गर्नुभयो ।