नमोबुद्ध संवाददाता

काठमाडौं–नेपाल प्रज्ञा–प्रतिष्ठानले कविशिरोमणि लेखनाथ पौड्यालको १३६ औं जन्मजयन्ती प्रज्ञा भवनमा प्रवचन कार्यक्रमको आयोजना गरी मनाएको छ । कार्यक्रममा नेपाली साहित्य एवम् वाङ्मय क्षेत्रमा पौड्यालको योगदानको चर्चापरिचर्चा गरियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाली साहित्यमा भानुभक्त र मोतीरामपछि उदाएका पौड्यालको योगदान विशेष गरी कविता विधामा उल्लेखनीय रहेको बताउनुभयो ।

उहाँले ६५ वर्षअघि हालको सैनिक मञ्च रहेको टुँडिखेलमा नेपाली शिक्षा परिषद्को आयोजनामा कविशिरोमणिको भव्य नागरिक रथारोहण गरिएको स्मरण गर्दै त्यो रथारोहण नेपालकै साहित्यिक इतिहासमा पहिलो पटक भएको दावी गर्नुभयो ।

जोशीले भन्नुभयो–“नेपाली कवितासाहित्यको उन्नयनमा पौड्यालले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । उबेला नै लेखनाथ पौड्यालले साहित्यमन्दिरको अवधारणा ल्याउनुभएको थियो, उहाँको सपना २०१४ सालमा नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापना भएपछि साकार भयो ।”

नेपाल प्रज्ञा–प्रतिष्ठानका निमित्त कुलपति एवम् कार्यक्रमका सभापति सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले कविशिरोमणि लेखनाथ पौड्यालले लेखेका कविता नेपालीकविता साहित्यमा लालित्य र परिस्कृतिका हिसाबले अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट रहेको तर्क गर्नुभयो ।

कार्यक्रमका संयोजक एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले स्वागत मन्तव्य व्यक्त गर्दै कविशिरोमणि लेखनाथ पौड्याल युगचेतना भएका कवि उल्लेख गर्नुभयो । उहाँका रचनामा अध्यात्म, मानवता, सामाजिकताका साथै सांस्कृतिक रूपान्तरणका सन्देश पाइने उहाँको दावी छ ।

कार्यक्रममा कविशिरोमणिबारे विशेष प्रवचन दिँदै नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. वासुदेव त्रिपाठीले कविशिरोमणि पौड्याल नेपाली काव्यसाहित्यलाई विश्वस्तरमा उठाउने कवि भएको दाबी गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ पत्रकार तथा साहित्यकार भैरव रिसालले कविशिरोमणि पौड्याल निकै चलाख र चातुर्य व्यक्ति भएको आफूले बुझेको बताउनुभयो । उहाँले आफूले पौड्यालसँग विभिन्न समयमा पत्रिकाका लागि अन्तरवार्तासमेत लिने अवसर पाएको स्मरण गर्नुभयो ।

मंगलबार आयोजित कार्यक्रममा कविशिरोमणिका काव्यसिर्जनासमेत वाचन गरिएको थियो ।

कविहरू लक्ष्मी गौतमले सत्य सन्देश, रञ्जना आत्रेयले चरीको विलाप, देवु लुइटेलले वसन्त कोकिल, रुपक अलङ्कारले धनमहिमा र बुद्धि तिमल्सिनाले कालमहिमा वाचन गर्नुभएको थियो ।

लेखनाथका ऋतुविचार (खण्डकाव्य), वुद्धिविनोद (कविताकृति), सत्यकलि संवाद (कविताकृति), सत्यस्मृति, मेरो राम, त्याग र उदयको सन्देश, गीताञ्जली (कविताकृति), तरुण तपसी (नव्यकाव्य), लक्ष्मीपूजा (नाटक), गौरीगौरव (नाटक), लालित्य (कविता कृति दुई भागसम्म) आदि प्रकाशित छन् ।

वि.सं. १९४१ पुस १५ गते कास्की जिल्लाको अर्घौंअर्चलेमा पौष शुक्ल एकादशीका दिन जन्मिनुभएका पौड्यालको निधन २०२२ साल फागुन ७ गते ८१ वर्षको उमेरमा चितवनको देवघाटमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस !